काठमाडौं, चैत ५ । लामो राजनीतिक रस्साकस्सीपछि विखन्डनको नारा बोकेर हिँडेका सीके राउत अन्ततः राजनीतिको मूलधारमा आएका छन् ।
सरकारसँगको सम्झौतापछि पनि ‘जनअभिमत’ भन्ने शब्दलाई लिएर जनमतसंग्रह र विखन्डनको नारा नछाडेको आरोप लागेका राउत जनमत पार्टी गठनसँगै मूलधारमा आइपुगेका हुन् ।
‘नेपालको भूराजनीतिका कारण विखण्डनको नारा चल्दैन । त्यसकारण सीके राउतले आँखा चिम्लेर विखन्डनको बाटो छाडेर सम्झौता गरिदिएका हुन्’–भन्ने दाबी राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालको छ ।
प्राध्यापक खनालले दाबी गरेजस्तै विखन्डनको नारा काम नलाग्ने देखेर हो वा अन्य कुनै कारण छ, सीके राउतले ‘स्वतन्त्र मधेस गठबन्धन’ र त्यसले बोकेको विखन्डनको नारालाई चटक्कै छाडीदिएका छन् ।
सरकारसँगको सहमतिपछि पनि उनको सामाजिक सञ्जालमा आएको भनाइ र उनलाई जनकपुरमा स्वागत गर्दा देखिएका ब्यानर, नारा र गतिविधिले उनले धोका दिएको विश्लेषण हुँदै आएको थियो ।
विपक्षी दल तथा नागरिक समाजले यस विषयमा प्रस्ट पार्न आग्रह गरिरहेपनि सरकारले भने राउतलाई कार्यकर्ता सम्झाउन समय लाग्ने भएकाले केही समय लाग्ने बताउँदै आएको थियो ।
प्राध्यापक कृष्ण खनाल पनि कार्यकर्तालाई नयाँ कुरा सम्प्रेषण गर्न राउतलाई समय लाग्ने भन्दै ‘यो केही समयको तरंगमात्र हो’–भन्छन् ।
तर, चैत ३ र ४ गते सम्पन्न उनको राष्ट्रिय परिषद बैठकले संविधान र अखन्ड एवं स्वाधीन नेपालको अस्तित्वलाई सम्पूर्णरुपमा स्वीकार गर्दै जनमत पार्टी स्थापना गर्ने निर्णय गरेको छ ।
यसैगरी, भेलाले निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय पनि गरेको छ ।
यी सबै निर्णयपछि सीके राउतले अब अहिलेसम्म गरिएका आशंका र उठेका प्रश्नको जवाफसमेत दिएका छन् ।
परिषद बैठक सकिएको भोलिपल्ट मंगलबार उनले मधेस आन्दोलनका सहिदको सालिकमा माल्यार्पण र मन्दिरमा पूजा गरेर आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका छन् ।
अहिले तराई–मधेस केन्द्रित राजनीतिमा सक्रिय दुई दलसँगै राउत तेस्रो शक्तिकारुपमा उदाउनसक्ने आंकलन पनि गरिएको छ ।
उनी भोलि कस्तो शक्तिकारुपमा रहन्छन्, त्यो त निर्वाचन परिणामले देखाउला । तर, अहिले भने उनले स्वतन्त्र मधेसको नारालाई तिलाञ्जलि दिएका छन् भने सरकार पनि उनलाई मूलधारमा ल्याउन सफल सावित भएको उनकै गतिविधिले देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्