
आज दिउँसो सिंहदरबारमा संयुक्त पत्रकार सम्मेलन गर्दै विपक्षीहरुले सत्ता पक्षले विपक्षीलाई धम्क्याउने, लल्कार्ने र जनतामा जान नदिने काम गरिरहेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालका अभिब्यक्तिहरु उत्तेजक र मुलुकलाई द्वन्द्वतर्फ लैजानेखालका भएको आरोप लगाए । शान्तिपूर्ण आन्दोलनलाई वितण्डा भनेर उत्तेजक बनाउने काम प्रधानमन्त्रीले गरिरहेको ओलीको भनाइ थियो ।
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रिय हित विपरित रहेकाले आफूहरुले त्यसलाई रोकेको भन्दै ओलीले सोे विधेयक संसदमा पेश नहुने र पास पनि नहुने दाबी गरे ।
संविधान कार्यान्वयन गर्न छाडेर प्रधानमन्त्री दाहाल खल्तीमा कैंची र सलाई बोकेर उद्घाटन्मा कुदिरहेको उनको आरोप थियो ।
एक थान हेलिकप्टरमा एक झुण्ड मानिस लिएर कहिले गुरिल्ला ट्रेल त कहिले द्वन्द्वकालमा दुई दिन बसेको घरको रिबन काट्न प्रधानमन्त्री दौडिएको भन्दै ओलीले आक्रोश पोखे ।
पत्रकार सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भारतको ईशारामा संविधान संशोधन प्रस्ताव आएको भन्दै त्यसलाई कुनै हालतमा पास हुन नदिने प्रतिवद्धता ब्यक्त गरे ।
संशोधन विधेयक विरुद्ध रहेका नौ दलमा एमाले, नेमकिपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, बहु जनशक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, मधेस समता पार्टी रहेका छन् । यी दलहरुले यही पुस २२ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्