सरोज अधिकारी (इमेज)
काठमाडौं, चैत ४ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको १० महिना बितिसकेको छ ।
तर, दुई पार्टीबीच तल्ला तहका एकता प्रक्रिया भने विभिन्न बहानामा अझै टर्दै आएको छ ।
यसले दुई पार्टी मिलेर बनेको नेकपाभित्र अरु नै केही पाक्दै त छैन ? भन्ने आशंकासमेत जन्माएको छ ।
दुई महिनापछि एमाले र माओवादी केन्द्रबीच औपचारिक एकता भएको एक वर्ष पुग्दैछ ।
एकता घोषणा हुँदा तीन महिनाभित्रै सबै एकता प्रक्रिया पूरा गरी संगठन विस्तारमा लाग्ने लक्ष्य राखिएपनि सोअनुसार काम हुन नसकेपछि लामो समयदेखि तल्ला तहका नेतृत्व कामविहीन छन् ।
पार्टी एकता प्रक्रिया पूरा गर्न पटक–पटक प्रयास भए । तर, ती प्रयास अहिलेसम्म असफल भइरहँदा शीर्ष तहमै असन्तुष्टिका स्वर चर्कोरुपमा सार्वजनिक भएका छन् ।
विशेषगरी हिजोको एमालेभित्रको केपी ओली समूह र माधवकुमार नेपाल समूहबीचको मतभेद अहिलेपनि जारी छ ।
पार्टी एकताबाट तेस्रो धार बनाएर आएको पुष्पकमल दाहाल समूह अहिले ओली समूहसँग मिलेर काम गरिरहेको छ । नेकपाभित्र अहिले दाहाल समूह निर्णायक छ ।
तर, ओलीपछिको नेता आफू हुने लोभले दाहालले ओलीको कार्यशैलीप्रति पार्टी एकतापछि खासै असन्तुष्टि जनाउन सकेका छैनन् । तर, निकटका नेताहरुसँग उनले ओलीको कार्यशैलीको खुलेर विरोध गर्न थालेका छन् ।
विगत हेर्ने हो भने ओली र दाहालको कार्यशैली मेल खानेखालको छैन । सरकारको काममा दाहाल पूरै मौन छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली दिन–दिनै सरकारको कामको बचाउ गर्दै हिँडिरहेका छन् । अर्का अध्यक्ष दाहाल सरकारको काम र पार्टी सन्चालनबारे खासै बोल्न नपरे हुन्थ्योझैं गरिरहेका छन् ।
जसको पछिल्लो उदाहरण पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका उड्नेक्रममा उनले पार्टी र सरकारबारे बोल्नै चाहेनन् ।
‘आजभोलिमै एकता प्रक्रिया टुंगो लाग्छ’ भनिरहेका बेला ओली आइतबार पूर्व हिँडे भने दाहाल अमेरिका गए । अब लगभग यो महिनाका लागि नेकपा एकता प्रक्रिया फेरि टरेको छ ।
यसअघिपनि हरेक दिनजसो ‘आजै एकता सकिन्छ, भोलि नै सकिन्छ’ भन्ने ढंगबाट प्रचार भएको थियो । तर, त्यो हल्ला चल्दा–चल्दै ओली र दाहाल भेट हुनै कयौं दिन लाग्ने र एकताकाबारेमा ठोस निष्कर्ष नै नआउने गरेको दृष्टान्त त छँदैछ ।
तल्ला तहसम्मै एकता प्रक्रिया भइहाल्ने र दाहाल समूह तथा नेपाल समूह मिलिहाले आफूहरु अल्पमतमा पर्ने डरले ओली समूह तत्काल एकता सक्न चाहँदैन ।
ओलीको ‘किचन क्याबिनेट’का केही सदस्य दाहाललाई विश्वास गरिहाल्न मान्दैनन् । दाहालपनि तत्काल एकता टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् ।
कम्तीमा अहिले हिजोको माओवादी केन्द्रका नेता आफूहरुसँगै भइरहेको बुझाइ दाहालमा छ । तर, एकता भइहाले स्वार्थले कहाँ पुर्याइदिने हो भन्ने डर दाहालमा देखिएको छ ।
पछिल्ला दिनमा सीके राउतसँग भएको सहमति र त्यहाँ ओलीले व्यक्त गरेको अभिव्यक्तिले पनि दाहालको मन कुँडिएको कतिपयको बुझाइ छ ।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा पनि दुई अध्यक्षबीच विवाद देखिँदै आएको छ । नेकपा विवाद नटुंगिनुको प्रमुख कारण दुवै अध्यक्षलाई एकार्काप्रति भरोसा नहुनु नै हो भन्नेमा नेकपाका अधिकांश नेता पुगेका छन् ।
एकता नटुंगिदा कार्यकर्तामा बढ्दै गएको अन्योल र निराशाले पुनः दुई पार्टीकै अस्तित्वमा फर्कने सोच अध्यक्षहरुमा देखिएको त होइन ? भन्ने प्रश्नपनि नेकपाभित्र उठ्न थालेको छ ।









प्रतिक्रिया दिनुहोस्