Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


देउवाका थरीथरी टिप्पणी


0
Shares

सन्दीप पौड्याल (इमेज)

काठमाडौं, चैत ३ । आमजनचासो र देशका लागि दूरगामी असर पार्ने सार्वजनिक महत्वका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लगातार फरक–फरक धारणा सार्वजनिक हुने गरेका छन् ।

सभापतिलगायत दलका नेताहरु र समग्र पार्टीका तर्फबाट आउने अपरिपक्व अभिव्यक्तिले कांग्रेसलाई सदैव समस्यामा पार्ने गरेको छ ।

नेकपा ‘विप्लव’ समूहका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै गत फागुन २८ गते पोखरा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाले देशमा हत्या, हिंसा, अराजकता मौलाएकाले यसको नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए ।

त्यसको भोलिपल्ट विराटनगर पुगेका देउवाले विप्लवले चन्दा आतंक, हत्या, हिंसालगायतका गतिविधि गरेर मानिसलाई दुःख दिएको भन्दै प्रतिबन्धमात्र होइन, कडा कारबाहीपनि गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरे ।

तर, चैत २ गते विराटनगरबाट पाल्पा पुग्दा भने देउवाको बोली फेरियो । उनले विप्लव नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्नुपर्ने धारणा सार्वजनिक गरे ।

नेतृत्वबाट फरक–फरक धारणाहरु आउन थालेपछि नेपाली कांग्रेस पार्टीकै तर्फबाट ‘अस्पस्टता र भ्रम निवारणका लागि’ भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गरे ।

विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरिएको छ ।

‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो’ भन्दै ‘तर त्यसको नाममा संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न नसकिने’ पनि विज्ञप्तिमा उल्लेख छ ।

यसअघिपनि सीके राउत र सरकारबीच भएको सहमतिमा पनि कांग्रेस नेतृत्वको अपरिपक्व र फरक–फरक धारणा आएपछि प्रवक्ता शर्माले आधिकारिक धारणा सार्वजनिक गर्नुपरेको थियो ।

नेतृत्व त्यसमा पनि सभापतिले बोल्ने कुरा पार्टीकै आधिकारिक धारणा हुनुपर्ने हो ।

तर, कांग्रेस नेतृत्वबाट जनचासो र देशका लागि दूरगामी असर पार्ने सार्वजनिक महत्वका विषयमासमेत स्पस्ट धारणा नबनाउनु र बोली फेर्नुले सो पार्टीको नीतिगत अस्पस्टतापनि झल्काउँछ ।

भिडियो हेर्नुहोस्