Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध


0
Shares

काठमाडौं, चैत ३ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आइतबार संसद अवरुद्ध गरेका छन् ।

संघीय संसद, प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरुले सो प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने जनाएका हुन् ।

बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछिपनि सरकारले सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरेको भन्दै विरोध जनाए ।

सांसद कर्णले भने–‘मधेसमा विभिन्न चरणमा भएका आन्दोलन, मानवअधिकारलगायतको विषयमा अध्ययन गरिएको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै रेशम चौधरीलाई थुनामा राखिएको छ’–उनले भने ।

थरुहट तथा विभिन्न समयमा भएका मधेस आन्दोलनकाक्रममा भएका ज्यादतीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २०७३ असोज २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो ।

सो आयोगले २०७४ माघ २९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसक्दासमेत सरकारले अझैसम्म सो प्रतिवेदनलाई सार्वजनिक नगरेको भन्दै राजपाले कडा आपत्ति जनाएको छ ।

प्रतिवेदन सार्वजनिक गर्नका लागि पटक–पटक माग गर्दासमेत सरकार संसदप्रति जिम्मेवार नभएको सांसद कर्णको भनाइ छ ।

सभामुख कृष्णबहादुर महराले सो विषयलाई सरकारको ध्यानाकर्षण गराएको र त्यसबारे सरकार गम्भीर भएको जानकारी गराए ।

राजपाको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । रासस