Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सीके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’को राष्ट्रिय परिषद् बैठक लहानमा


0
Shares

सिरहा, चैत ३ । सीके राउत संयोजक रहेको ‘स्वतन्त्र मधेस गठबन्धन’को राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ ।

बैठक सिरहाको लहान मरवाडी सेवा सदनमा बसिरहेको छ ।

सरकारसँग भएको ११ बुँदे सम्झौताबाट राजनीतिको मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो ।

बैठकमा मूलधारमा आएपछि गठबन्धनको अगामी रणनीति कस्तो हुने ? पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने ? मधेसमा कुन–कुन एजेन्डा उठाउने ? लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

बैठकस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने गठबन्धनका शीर्ष नेताबाहेक अरु कार्यकर्ता र सन्चारकर्मीलाईसमेत प्रवेशमा रोक लगाइएको छ ।

परिषद्का सदस्यहरुको मोबाइलसमेत बैठकस्थलभित्र निषेध गरिएको छ ।

स्वतन्त्र मधेसको एजेन्डा छाडेको भन्दै सहमतिपछि गठबन्धनभित्र केही नेताले असन्तुष्टि जनाइरहेका छन् भने कतिपय कार्यकर्ताले सहमतिलाई ‘धोका’ भनेका छन् ।

गठबन्धनले राममनोहर यादवलाई सहिद घोषणा गराउन नसकेकोमा पनि थुप्रै कार्यकर्ताहरुले चित्त दुखाएका छन् ।

यी सबै विषयमा सीके राउतले दुई दिनसम्म चल्ने बैठकमा चित्त बुझाउने प्रयास गर्ने स्रोतको दाबी छ ।

बैठकपछि राउतलाई लहानमै शक्ति प्रदर्शनसहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा तराईका २२ जिल्लाबाट परिषद् सदस्यहरु सहभागी छन् ।