२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


स्थानीयको अवरोधले काठमाडौं–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र


0
Shares

चारमध्ये तीनओटा ठूला पुल काठमाडौं–भक्तपुर जोड्ने पुल हो भने एउटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।

भक्तपुर र काठमाडौं जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत ६ वर्षदेखि स्थानीयले अवरोध पुर्‍याएकै कारण निर्माण सुरु हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

कुल रु चार करोड ८५ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०६६ साल पुस २४ गते सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीसहित काम सुरु गरेकै दिन पुल निर्माण हुुन नदिने भन्दै गोठाटार र मध्यपुर थिमिका बासिन्दाबीच झडप भएको थियो ।

मनोहरा खोलाले धार परिवर्तन गर्दा गोठाटारवासीको जग्गा थिमि क्षेत्रमा पसेकाले २०२१ सालकै नापीअनुसार खोलाको धार कायम गरेर पुल निर्माण गर्नुपर्ने गोठाटार बासिन्दाको माग थियो भने यसरी धार परिवर्तन गर्दा वर्षौदेखि थिमिका बासिन्दाले शव जलाउने घाटसमेत भत्काउनुपर्ने भएपछि यसमा थिमिको बासिन्दाले असहमति जनाउँदै खोला अहिले बगेकै स्थानमा पुल बनाउनुपर्ने माग गरेका थिए ।

काठमाडौं–गोठाटार र भक्तपुरको थिमिका बासिन्दाबीच झडप भएपछि हालसम्म यो पुल निर्माण अलपत्र परेपनि सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेको छ ।

कार्यालयका प्रमुख अधिकारीले भने–‘यसवर्ष पनि सरकारले रु २० लाख छुट्याएको छ, पुल निर्माणका लागि दुबै पक्षसँग पटक–पटक छलफल गर्दा पनि प्रगति हुन सकेको छैन, त्यसैले पुल निर्माण अलपत्र परेको हो ।’

यता, काठमाडौंको इन्द्रायणी र भक्तपुरको चाँगुुनारायण जोड्ने मनोहरा–इन्द्रायणी पुल निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले अवरोध गरेका छन् ।

२०६८ साल असार २७ गते निर्माण सम्झौता भएको उक्त पुुलको निर्माणकार्य हाल ८६ प्रतिशत सम्पन्न भएपछि नदी नियन्त्रणको काममा स्थानीयले अवरोध पुर्‍याएपछि पुल निर्माण सम्पन्न गर्ने काम अलपत्र परेको छ ।

कुल रु चार करोड ५५ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि स्थानीयले काम अवरोध गरेपछि काम सम्पन्न नै नगरी ठेकेदार कम्पनी लामा बिल्डर्स साल्पा शेर्पा जयबाबा गोरखा जेभीले काम छाडेर जान खोजेको कार्यालयले जनाएको छ ।

त्यस्तै, भक्तपुुरको चाँगुनारायण र काठमाडौंको ब्रम्हखेल जोड्ने चाँगुनारायण–ब्रम्हखेल खोला पुुल निर्माणकार्य सुरु भएपछि रोकिएको छ ।

२०७० साउन ४ गते रु तीन करोड ९४ लाखमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएर काम सुरु गरेपछि खोलामा कडा ढुंगा निस्किएको र इन्द्रायणीतर्फका बासिन्दाले खोला क्षेत्रमा पर्ने जग्गामा पुलको जग हाल्न नदिएपछि निर्माणकार्य अलपत्र परेको छ ।

कार्यालय प्रमख अधिकारीले भने–‘काठमाडौंतर्फ जगको तीनओटा पिलर हालियो, भक्तपुरतर्फ काम गर्दा कडा ढुंगा आएपछि डिजाइन नै परिवर्तन गरेर काम भइरहेको छ, तर इन्द्रायणीतर्फका स्थानीयले जग्गा छोड्न नमानेपछि पुल निर्माण बाधा आएको छ ।’

त्यसैगरी, मध्यपुर थिमि नगरपालिका र अनन्तलिंगेश्वर नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते–दधिकोट पुल निर्माणको अन्तिम चरणमा बाधा आएको छ ।

२०६९ असार २५ गते रु तीन करोड ९२ लाखमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर कामै नगरी सम्पर्कमा नआएको ठेकेदार कम्पनीकाविरुद्ध कार्यालयले कारबाहीको सूचना जारी गरेपछि काम सुरु भएको थियो ।

उक्त पुलको हाल स्ट्रक्चर निर्माणकार्य सम्पन्न भएको जानकारी दिँदै कार्यालय प्रमख अधिकारीले स्थानीय निकायले पुल र दधिकोटतर्फको सडकको सीमांकन नगरिदिँदा काम सम्पन्न गर्न समस्या आएको जानकारी दिए ।

यसैबीच, विभिन्न अवरोधकाबीच चाँगुनारायण–साँखु जोड्ने मनोहरा खोला पुल निर्माण सम्पन्न भएको छ ।

२०६६ साल असार २५ गते सम्झौता भएर पटक–पटक समय थप गर्दै निर्माण भएको सो पुल हालै निर्माण सम्पन्न भएको उनले जानकारी दिए । रासस