२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


स्खलित हुँदै गरेको काठमाडौंको चरित्रलाई बचाउने हो कि ?


0
Shares

sanjib karki article

-संजिव कार्की

नेपालको राजधानी तथा देशकै सबभन्दा ठूलो र बढि जनघनत्व भएको शहर काठमाडौं । प्राग ऐतिहासिक इतिहास र सभ्यता अनि संस्कृतिले सुसज्जित अनि सुपरिभाषित नगर काठमाडौं । मध्यकालसम्म कान्तिपुर नामले चिनिने र पुकारिने काठमाडौं त्यसपछि भने काठमाडौंनामको नयाँ चिनारी बोकेर आज सम्म विद्यमान छ । इतिहासका बिभिन्न कालखण्डमा थरिथरि राजबंशले शासन गरेको र फरक, फरक सभ्यताको विकास र थालनी गरेको यसको चरित्र अदल बदल भएको पाइन्छ । राजा पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गरि यसलाई जब आफ्नो अधिनस्त बनाए तब देखि नेपाल राज्यको केन्द्रिय राजधानीको रुपमा काठमाडौँ आफ्नो बिशिष्ट राजनीतिक, ऐतिहासिक र ब्यबहारिक अस्तित्वमा छ ।

काठमाडौं नगर र सभ्यताको प्राचीनतम इतिहास धार्मिक तथा बिबिध जातजातिको बंशावालीबाट प्राप्त गर्न सकिन्छ । महाचिनबाट बुद्दधर्मका बोधिसत्व महामन्जुश्रीले तत्कालिन दहको रुपमा रहेको काठमाडौँ खाल्टोमा अलौलिक रश्मि र ज्योति देखि यसबाट प्रभावित भएर यहाँको पानीलाई चोभारको डाँडोमा खड्ग प्रहार गरि काटेर गल्छेडो बनाई पानीको निकाश दिई मानव बस्ति योग्य भुमि बनाई मानव बस्ति बसाएको र नव मानव सभ्यताको प्रारम्भ गरेको जनश्रुति र जन विस्वासको जग पनि छ । गोपाल राजवंशावाली, संस्कृत र नेपाल भाषामा उल्लेखभए अनुसार राज बंशावाली हो । यसमा उल्लेखित इतिहास अनुसार नेपाल मण्डल (काठमाडौँ उपत्यका वोरिपरीको क्षेत्रमा) गोपाल, महिषपाल, अमिर ,किरांत ,सोमबंशी र लिच्छवी अनि पृथ्वीनारायण शाह देखि अन्तिम राजा ज्ञानेन्द्र शाह सम्मले शाह बंशीय शासन गरि बिभिन्न सभ्यता संस्कृति र परम्परा बसाली निरन्तरता दिए । पहिलो किराँत राजा यलम्बरले महाभारत युद्दमा सहभागी भएको समेत विश्वास गरिन्छ त्यस्तै सातौं किराँती राजा जितेदास्तीको पालामा बौद्ध भिक्षुहरु काठमाडौं आएर यहाको सभ्यतामा योगदान दिएको चर्चा पनि इतिहासमा पढ्न पाइन्छ ।

राजा ज्ञानेन्द्रसंगै परम्परागत राजसंस्थाको औपचारिक बिदाई गरि गणतन्त्रमा पनि रामबरण यादवको पहिलो राष्ट्रपति काल सकाएर बिद्यादेवी भण्डारीको कार्यकाल भोग्दै आएको छ काठमाडौं । यसक्रममा बिबिध सभ्यता,संस्कृति र परम्परा विकास गरिए ,बनाइए , भत्काइए ,पुरिए ,छोपिए, च्यातिए, च्यापिए, पन्छाइए र अंगालीए यी सबको एक्लो साक्षी र अग्राही अनि पूर्वाग्रही यो काठमाडौँ नगरी हो केवल यो काठमाडौं ।

तसर्थ इतिहासको यो बिरासतबाट पनि थाहा हुन्छ काठमाडौँ आज पर्यन्त उस्तै शक्तिशाली हावी र प्रभावी छ नेपाल देशमा । समग्र देशलाई आफ्नो मुठीमा कसेर राख्न सफल छ काठमाडौं । काठमाडौँसंग के, के छैन ? काठमाडौमा को, को छैन ? काठमाडौँले नतान्ने, नखिच्ने र आफ्नो नियन्त्रणमा नराखेको कसलाई छैन र ? सामान्य श्रमजीवि, वलजीवि ,बुद्दिजीवी देखि जोगी, भोगी, सन्त, महन्त, ज्ञानी, बिज्ञानी, ज्ञाता, दाता , भ्राता ,विद्धान, विदुषी, सोडशी सब का सब नायक देखि खलनायक सम्म काठमाडौंको मोह्पाशमा जेलिएका छन बेरिएका छन । असह्य अभाव पीडा दुःख देखि अद्दितिय सुख, भोग, विलास ,अवषाद, विषाददेखि अवसर चुनौती र समय काठमाडौँमा केन्द्रित छ ।

काठमाडौं जति प्रिय छ अप्रिय पनि त्यति नै छ । पशुपतिनाथ, बौद्धनाथस्तुपा, स्वयम्भुनाथ, बागमती विष्णुमति रुद्रमती यक्षमतिको को काखमा हुर्केको सभ्यता र संस्कृतिको निरन्तरता मा जति सान छ मानव सभ्यताको स्खलन र विचलन पनि त्यतिकै तीव्र र उग्र गतिमा हुँदैछ । विगतमा काठमाडौँ सवैलाई दिन्थ्यो अरुलाई दिए पछि मात्र आफु राख्थ्यो तर समयक्रममा काठमाडौं जे पनि लिने र स्वीकार्ने ठाउमा आयो दिन नसक्ने नचाहने र मन नपराउने भयो । यसको चरित्र र प्रकृति निरंकुश छ । मानवीय चरित्र ब्यबहार र सभ्यता काठमाडौंले स्खलित गरिसकेको छ । जे जति बाँकी छ त्यो ऊ आफैंलाई अपूर्ण र अप्रयाप्त छ जसलाई उसले बाड्न मात्र हैन प्रदर्शन समेत गर्न सक्तैन ।

काठमाडौंमा यदाकदा मानवताका फुलहरु फुल्ने त गर्छन तर यथोचित स्याहारसुसार र हेरविचार नपाएर असमयमा मर्ने र झर्ने गर्छन िकसोकसो शान्तिको शितल पवन वहे जस्तो पनि गर्छ तर निरन्तरता देखिदैन । काठमाडौंलाई देश दुख्दैन तर देशलाई संधैभरी काठमाडौं दुख्छ, पोल्छ काठमाडौंले,पिरोल्छ, निल्छ, ओकल्छ, समग्र देश काठमाडौंमा छ । देश आफूमा केन्द्रित गर्ने काठमाडौं देश बटुल्छ , देशलाई आफ्नो बाहुपाशमा राख्छ , देशलाई आकर्षण गरेर तान्न सक्छ तर देशलाई आफूले कहिल्यै केहि दिदैन केहि बाँडीचुडी खाऊ भन्दैन । ‘मै खाऊ मै लाउ सुख सयल मोज म गरूँ ’ को स्वार्थमा छ काठमाडौं । हतपत अरुका कुरा सुन्दैन काठमाडौं, आफ्ना कुरा सुनाउन काठमाडौंमा नै आउनु पर्छ देश । जे जति अरुका कुरा सुन्छ ढिला गरि सुन्छ । जति बेलासम्म सात गाउँ डुबिसकेको हुनेछ । सात गाउँ डुब्ने, डुबाउने नियतिको क्रुर माखेसांगलो मा जकडिएको छ काठमाडौं ।

सवै अधिकार पाउने प्राथमिक सूचिमा काठमाडौं अग्राधिकार खोज्छ । सबै सेवा ,सुबिधा मोजमस्ती भोगविलास पाउने, कमाउने प्राधिकार काठमाडौंको हो । बाँकी देश, दुनियाँ काठमाडौंले अघाए पछि या यसले डकारे पछि मात्र केहि हड्डी र झोलको लागि माथापच्ची गर्ने हुन् । काठमाडौंलाई जति अधिकारको कुरा कसैलाई थाहा छैन । अधिकारको वचन प्रवचन दिन काठमाडौं जति अरु कसैले जान्दैन त्यो ल्याकत र क्षमता अरुमा हुन्न तर जब कर्तब्य र उत्तरदायित्वको कुरा आउछ काठमाडौं सरक्क पन्छ्न्छ त्यहाँ आफ्नो कुनै भूमिका उसले देख्दैन । कर्तब्य र उत्तरदायित्व अनि दिशाबोधको कुरा आउँछ तब काठमाडौं कान सुन्दैन आँखा देख्दैन विवेकलाई आत्मसाथ गर्दैन । विवेकशुन्य, आत्महीन र किंगकर्तव्यबिमुढ़ हुन्छ काठमाडौंं । बेग , आवेग र आक्रोशमा आगो ओकल्छ काठमाडौं तर भावना चेतना र सत्प्रयासलाई पानी दिन मान्दैन, सक्दैन र चाहँदैन काठमाडौं । संवेदनशुन्य र संवेदनहीन छ काठमाडौं । काठमाडौंमा जे छ देशमा त्यो छैन यति हुँदा हुँदै पनि अभावमा छ काठमाडौं ।

राष्ट्रपती निवास तथा राष्ट्रपतीको कार्यलय , प्रधानमन्त्रीको कार्यलय, नेपाल सरकारको केन्द्रिय सचिवालय, मन्त्रालयहरु ,प्रायः सवै राजनीतिक पार्टीका केन्द्रीयस्तरको कार्यालयहरु ,सरकारी तथा निजि टेलिभिजन, रेडियोहरु, निजी तथा सरकारी र गैर सरकारी संघ संस्थाका कार्यालयहरु सबै काठमाडौंमा नै केन्द्रित छन । ठूला,ठूला शैक्षिक संस्थाहरु देखि अस्पताल र बैंकहरु सम्म यहाँ छन तर पनि काठमाडौं संधै गरिव छ, मगन्ते छ, अभावको कुरा गर्छ, भाव र बहाव को कुरा गर्दैन । असन्तोष र आक्रोश काठमाडौंमा जति देशमा छैन । काठमाडौं अहंकारी र घमण्डी छ पपाचारी र दुराचारी छ । सहयोगी ,विनयी र अनुसाशित छैन असहयोगी उदण्ड अनि अनुशासनमा छैन काठमाडौं । सेवाभाव ,मानवता अनि मानवीय संवेदना काठमाडौसंग छैन श्र चित्र छ चरित्र छैन । चित्रमा देश छ चरित्रमा देश बोक्दैन काठमाडौंले । काठमाडौं कहिल्यै अप्ठ्यारोमा हिड्न जान्दैन । जटिलता काठमाडौं मन पराउदैन । जे जति अप्ठ्यारो आपद, विपद सबै काठमाडौं बाहिर समग्र देशले भोग्नु पर्छ ।

काठमाडौंलाई त्यो सह्य हुँदैन । सजिलो, सुबिधा, सेवा र अवसर मात्र काठमाडौँ आफ्नो ठान्छ । यहाँको अपराध चोरी, डकैति, लुट, छल र अधर्म काठमाडौं आयातितहरुको भागमा हालेर आफूलाई निष्कलंक सम्झन्छ । अरुलाई मारेर काठमाडौं आफू मोटाएको भ्रममा छ तर यो मोटाएको होइन सुन्निएको हो । सुन्निएको काठमाडौं रोगी भएर अस्पतालको बेडमा छटपटाइरहेको छ । रोगाएको काठमाडौं पेनकिलरको चक्कीमा जीवन बाँचिरहेको छ । विश्वास, आशा, भरोसा र विवेकका खोल्सा खोल्सीहरु रसाउन छोडिसके काठमाडौँमा । रंगीविरंगी मास्क भित्र लुकेको छ । काठमाडौंको अनुहार एउटी नगरबधुको इज्जत र प्रतिष्ठा जति छ त्यो भन्दा बढि हुन् सकेको छैन ।

आशंका ,अविश्वास र सन्देहको घेराबन्दीमा फसेको छ काठमाडौंको मौलिकता । प्रयोगशालाको रिपोर्टमा काठमाडौंको रोगी जीवाणु पत्तालागेको छ जसको रगतमा (यहाँका मान्छेहरुको शरीरमा) लोभ, स्वार्थ, नीचता र घटियापन, निक्रिस्ट सोच र बुद्दिहिनता र नमक हराम भन्ने जीवाणुले अकन्टक आक्रमण गरेको छ तथापि काठमाडौं आफुमा लागेको रोग प्रति चिन्तित छैन पेनकिलर खाएर उपचारको ढोंग पिटिरहेको छ । हेरौं कतिन्जेल धान्छ पेनकिलर ले ? गर्भमा रहेका भ्रुण पनि काठमाडौं जस्तो नरकमा यो पाप र अधर्मको कुण्डमा नजन्मन पाए हुन्थ्यो भन्न थालि सके । हे पशुपतिनाथ । काठमाडौंले डायग्नोसिस गरेको रोगको औषधि खान नहिचकिचाओस आफ्नो मौलिक, सभ्यता ,संस्कृति र परम्परा जोगाउन काठमाडौंले ढिला गर्न हुन्न । यो देशको मुटु काठमाडौं रोगी भयो भने देश निरोगी हुन् र रहन सक्तैन ।

काठमाडौं प्रतिनिधि शहर र प्रतिक मात्र हो सवै सहरीकरण र आधुनिकीकरणमा रहेका शहरहरुको व्यथा र शुल हो यो कथा । यो कथा शहरको मात्र हैन मेरो देशको कथा हो, व्यथा हो । जसको समयमा विषय बिज्ञ चिकित्सकको निगरानीमा उपचार र औषधिको व्यवस्था,यथासम्भव जटिल अप्रेशन भएन, गर्न सकिएन भने रोगी निसन्देह मृत्युको मुखमा पुग्नेछ सम्मुख छ मुखमा नपुगोस मृत्युको । काठमाडौं चित्र सुधार्न खोज्छ चरित्र सुधार्न खोज्दैन किन ? काठमाडौंको चारित्रिक सुद्दता आजको अपरिहार्यता हो १ यसको सुद्दता पवित्रतामा देशको चरित्र छ देशको चरित्र काठमाडौँले आफूलाई रुपान्तरण गरेर सम्भव छ तसर्थ आफ्नो रुपान्तरण , काठमाडौँको रुपान्तरणमा हामी पनि कतै जानी नजानी जोडिएका हुन्छौ । सकारात्मक रुपान्तरणमा आफुलाई पनि काठमाडौंसंगै राखौ समयले खिचेको धुमिल तस्विरलाई सच्चिएर, सच्याएर नयाँ जीवन्त तस्विर खिच्न अवसर प्रदान गरौ । भोलिको पुस्ताको लागि चहकिलो तस्विर र सुनौलो नेपाल इमान ,जमान र सुनामको फ्रेममा राखेर सुसज्जित बनाई हस्तान्तरण गरौ ।