१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन ‘ब्रेक थ्रु’


0
Shares

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट काठमाडौंको सुन्दरीजलसम्म खन्न सुरु गरिएको २७ किमी लामो सुरुङमध्ये ९ दशमलव ४ किलोमिटर पुस १३ गते ‘ब्रेक थ्रु’ भएको थियो । सो सुरुङको खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सुरुङको बीचमा रिबन काटेर उद्घाटन गरे ।

मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले बिना कुनै जोखिम र दुर्घटना सुन्दरीजल–सिन्धुखण्ड ‘ब्रेक थ्रु’ भएको बताए । उनले राष्ट्रिय गौरवको यो आयोजना सम्पन्न भएबाट सबै जुटेर लागे विकास सम्भव छ भन्ने प्रमाणित भएको बताए । बाँकी काम पनि दसैं अघि नै सम्पन्न गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सांसद शेरबहादुर तामाङले मेलम्चीको पानी काठमाडौंबासीलाई दिन आयोजना निर्माण गरिएको भन्दै याङ्ग्री र लार्के खोलाको पानी पनि छिटो काठमाडौंमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले आगामी दसैंमा काठमाडौंका जनतालाई मेलम्चीको पानी उपहारका रुपमा दिन लागेको बताए ।

समितिका निमित्त कार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले २७ किमी सुरुङमध्ये ५दशमलव ४ किलोमिटर बाँकी रहेको जानकारी दिए ।

कार्यक्रममा मेलम्ची आयोजनाका लागि ऋण सहयोग दिने एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर किनिची योकोहामा, परामर्शदाता कम्पनी एप्टिसा–बेट्स जेभीका आवासीय सह–व्यवस्थापक शिवकुमार शर्मा र इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीका साल्भातोने क्यासीकोले दसैंअघि नै पानी ल्याइने प्रतिबद्धता व्यक्त गरे ।