१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एक वर्षमा मुस्ताङमा ३९ हजार विदेशी पर्यटक


0
Shares

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।

राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् ।

सन् २०१५ भन्दा १६ मा १५ हजार सातसय ४५ बढी पर्यटक भित्रिएको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए ।

‘सन् २०१५ मा जम्मा २३ हजार दुईसय ७२ जना मात्र पर्यटक आएको तथ्याङ्क छ,’ उनले भने, ‘भूकम्प त्रास र प्रतिकूल मौसमका कारण गत वर्ष कम पर्यटक भित्रिएका हुन् ।

सन् २०१६ को सङ्ख्या उत्साहजनक रहेको उनले बताए ।

पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

एक्यापका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकमध्ये १५ हजार चारसय ७८ भारतीय र २३ हजार पाँचसय ३५ अन्य देशका छन् ।

गत वर्ष मे महिनामा सबैभन्दा धेरै ६ हजार आठसय १६ र जनवरी महिनामा सबैभन्दा थोरै तीनसय ६५ जना पर्यटक मुस्ताङ आएको प्रमुख दाहालले जानकारी दिए ।

एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्यांक संकलन गर्दै आएको छ । (रासस)