२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री दाहाल अवुधावी प्रस्थान, यस्तो छ युएईमा कार्यक्रम


0
Shares

युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अंगका प्रतिनिधि, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीलाई बिदाइ गरे ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्य रहेका छन् ।

यस्तै, टोलीमा ऊर्जामन्त्री जनार्दन शर्मासहित ऊर्जा मन्त्रालयका सहसचिवलगायतका उच्च अधिकारी पनि सहभागी छन् ।

प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवं भावी परिदृश्यकाबारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमन्डलले युएईका राष्ट्रप्रमुख, सरकार प्रमुख एवं उच्च अधिकारीसँग आपसी हित, द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्ताकाक्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवं भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमासमेत समकक्षी एवं उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने कार्यक्रम छ ।

शिष्टाचार महापाल अधिकारीले कूटनीतिक सम्बन्ध स्थापना भएपछि युएईमा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण यसअघि नभएको बताए ।

प्रधानमन्त्रीले उनका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आपसी हित र द्विपक्षीय चासोका विषयमा आगामी आइतबार द्विपक्षीय कुराकानी गर्नेछन् ।

यस्तै, आगामी सोमबार समिटको उद्घाटनसत्रमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेछन् भने सोही दिन सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग आपसीहित र चासोका विषयमा छलफल गर्नेछन् ।

वैकल्पिक ऊर्जाका क्षेत्रमा युएईले गरेको विकास संसारका लागि अनुकरणीय रहेको सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्नेछ ।

सम्मेलनमा ऊर्जाका क्षेत्रमा काम गर्दै आएका ३२ मुलुकका ६०० बढी कम्पनीले भाग लिँदैछन् भने विभिन्न ३० कार्यक्रममा १२५ जना विषय विज्ञले आफ्नो प्रवचन दिने कार्यक्रम छ ।

वैकल्पिक ऊर्जाको विकास र विस्तारमा जोड दिने लक्ष्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा ऊर्जाका क्षेत्रमा पछिल्लो दिनमा विकसित प्रविधि तथा उपकरणकोसमेत प्रदर्शनी गरिनेछ ।

यस्तै, समिटमा ऊर्जामन्त्री शर्माले पनि महत्वपूर्ण सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए ।

उनकाअनुसार समिटमा सहभागी मुलुकका ऊर्जामन्त्री एवं ऊर्जा क्षेत्रका जानकारसँग नेपालको लगानीको अवसर एवं अनुसन्धानको क्षेत्रका काम गर्न आग्रह गरिनेछ ।

वैकल्पिक ऊर्जाका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सीको मुख्यालयसमेत युएईमा नै रहेको सन्दर्भमा समिटबाट नेपालले महत्वपूर्ण फाइदा लिनसक्ने सहसचिव चटौतको भनाइ छ । रासस