
विश्वकै सर्वाधिक धनी बिल गेट्स
गरिबीविरुद्ध क्रियाशील संस्था अक्सफामले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आठ जनाको नियन्त्रणमा विश्वको आधा सम्पत्ति देखिएको हो । ती धनाढ्य आठैजना पुरुष हुन् ।
अक्सफामले जारी गरेको तथ्यांकअनुसार ती आठमध्ये अमेरिकाका ६ जना छन् भने स्पेन र मेक्सिकोका एक–एक जना छन् ।
समाचार एजेन्सीहरुका अनुसार विश्व आर्थिक मञ्चको वार्षिक बैठकअघि अक्सफामले गरिब र धनीबीचको खाडल अझ गहिरिएको ठहर गरेको हो । सन् २०१० मा ४३ जनासँग विश्वको आधा सम्पत्ति रहेको थियो ।
अक्सफामले उद्योगपतिहरुको चयन फोर्ब्सको अर्बपतिको सूचीबाट गरेको हो ।
उक्त सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स शीर्ष स्थानमा छन् । त्यसैगरी अमान्सियो ओर्टेगा दोस्रो नम्बरमा छन् भने वारेन बफेट तेस्रो नम्बरमा छन् ।
त्यस्तै मेक्सिकन कारोबारी कार्रोस स्लिम चौथो, जेफ बेजोस पाँचौं र फेसबुकका संस्थापक मार्क जुकरबर्ग छैठौं नम्बरमा छन् ।
यसैगरी लेरी एलिसन सातौं र ओरेकल कार्प आठौं नम्बरमा रहेका छन् । यिनीहरुको कुल सम्पत्ति विश्वको आधा सम्पत्ति बराबर रहेको अक्सफामले जनाएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्