
अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार रेलको लिकमा क्षति पुर्याउनका लागि प्रेसर कुकर बम प्रयोग गरिएको थियो, जसका कारण रेल दुर्घटना हुँदा एक सय ५० जनाको मृत्यु भएको थियो ।
घटनाका आरोपी मोतीलाल पासवानले दिएको बयानका आधारमा प्रहरीले थप छानविन गरिरहेको बताइएको छ । घटनामा पासवानले अन्य ७ जनासँग मिलेर कानपुर नजिकै रेलको लिकमा दुई पटक क्षति पुर्याएको स्वीकार गरेको पनि जनाइएको छ ।
भारतीय संचारमाध्यमका अनुसार उक्त घटनाको योजनाकार ब्रजकिशोर गिरी रहेका छन् । गिरीलाई हत्या आरोपमा नेपालमा गिरफ्तार गरिएको पनि भारतीय संचारमाध्यमले जनाएका छन् । गिरी नेपाली नागरिक नै रहेको भारतीय संचारमाध्यमले खुलासा गरेका छन् ।
उक्त घटनामा शमशुल हुदा नाम गरेका नेपाली पनि संलग्न रहेको र उनी दुबईमा रहेको भारतीय अखबार नवभारत टाइम्सले जनाएको छ । सो अखबारको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।
शमशुलले ‘आइएसआइ’ का लागि काम गर्दै आएको र ब्रजकिशोरका अतिरिक्त शम्भु गिरी, मुजाहिर अन्सारीमार्फत विभिन्न गतिविधि संचालन गर्दै आएको बताइएको छ । शम्भु र मुजाहिर पनि नेपालमै पक्राउ परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
ब्रजकिशोरको टिमले भारतको बिहारका तीन अपराधी उमाशंकर पटेल, मोतीलाल पासवान र मुकेश यादवलाई तीन लाख रुपैयाँ दिएर इन्दौर–पटना एक्सप्रेस र सियालदह–अजमेर एक्सप्रेसलाई दुर्घटनाको शिकार बनाउने षडयन्त्र रचेको जनाइएको छ । भारतमै पक्राउ परेका उमाशंकर, मोतीलाल र मुकेशले आफूहरुले नेपाली एजेन्टका लागि काम गरेको स्वीकारेको भारतीय प्रहरीलाई उद्धृत गर्दै विभिन्न संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्