काठमाडौं, फागुन २९ । विभिन्न राजनीतिक दलका नेताहरु सामाजिक सञ्जालका माध्यमबाट आफ्ना प्रतिक्रिया राख्ने, विभिन्न सूचना दिने गर्दै आएका छन् । कतिपय नेताहरुले ट्वीटरमा व्यक्त गर्ने धारणा समाचारका विषय पनि बन्ने गरेका छन् ।
त्यसैले उनीहरुका फलोअर पनि प्रशस्त हुन्छन् । तर उनीहरुले कस्तालाई फलो गर्छन् ? आम पाठकका लागि चासोको विषय हुन सक्छ ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि ट्वीटरमा निकै सक्रिय पाइन्छन् । उनले ट्वीटरमा ४८१ जनालाई फलो गरेका छन् । उनले नायिका ऋचा शर्मा, करिश्मा मानन्धर, रेखा थापा, प्रियंका कार्कीलाई फलो गरेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय कांग्रेस नेता गगन थापाले ट्वीटरमा ७४३ जनालाई फलो गरेका छन् । उनले फलो गर्ने सेलिब्रेटीमा नेपाली नायिका प्रियंका कार्कीमात्र छिन् । थापाले फलो गरेकाहरुमा विभिन्न दलका नेता, स्वदेशी तथा विदेशी अनलाइन मिडिया, सञ्चारकर्मी र विश्लेषक बढी छन् । त्यस्तै अन्तर्राष्ट्रिय संघ–संस्थालाई पनि उनले ट्वीटरमा फलो गरेका छन् ।
नेकपाका नेता जनार्दन शर्माले ट्वीटरमा १५९ जनालाई फलो गरेका छन् । उनले फलो गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर विश्वकै धनाढ्य बिल गेट्ससम्म छन् ।
शर्माले बलिउडका सेलिब्रेटीहरुमा आलिया भट्ट, बिपाशा बसु, जुही चावला, सोनाक्षी सिन्हा, जेनेलिया डिसुजा, अनुष्का शर्मालाई पनि फलो गरेका छन् । त्यस्तै दीपिका पादुकोण, रविना टन्डन, नेहा धुपियालाई पनि उनले फलो गरेका छन् । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहालदेखि लिएर कांग्रेस नेता गगन थापा, रामशरण महत, राप्रपा अध्यक्ष कमल थापालाई पनि फलो गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने उनले फलो गरेका छैनन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ट्वीटरमा ६९ जनालाई फलो गरेका छन् । उनले नेपाली तथा विदेशी कुनै पनि कलाकारलाई फलो गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहालदेखि लिएर कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, राप्रपा अध्यक्ष कमल थापालाई उनले फलो गरेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक ट्वीटरमा दुई जनालाई फलो गरिएको छ । फलो गरिएकामध्ये एउटा अकाउन्ट दाहालकै स्वर्गीय पुत्र प्रकाशको हो भने अर्को तत्कालिन नेकपा माओवादी केन्द्रको अकाउन्ट हो ।
राप्रपा अध्यक्ष कमल थापाले ट्वीटरमा २०१ जनालाई फलो गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर डा.बाबुराम भट्टराई, नरहरि आचार्य, विमलेन्द्र निधि, डा. रामशरण महतलगायतका नेतालाई फलो गरेका उनले सेलिब्रेटीलाई महत्व दिएका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत ट्वीटरमा ६६ जनालाई फलो गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवादेखि लिएर कांग्रेसकै नेताहरु रामचन्द्र पौडेल, गगन थापा, राप्रपा अध्यक्ष कमल थापा, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई उनले फलो गरेका छन् । ओलीले सेलिब्रेटीलाई भने फलो गरेका छैनन् ।
नेकपाका नेता भीमबहादुर रावलले बलिउड नायकहरु सलमान खान, अमिर खानलाई फलो गरेका छन् । जम्मा ११८ जनालाई फलो गरेका उनले आफ्नै पार्टीका विभिन्न नेतासहित कांग्रेस नेता गगन थापा, विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई लगायतलाई फलो गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ९८ जनालाई फलो गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, ईश्वर पोखरेल, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायतलाई फलो गरेका छन् । उनले पनि सेलिब्रेटीलाई स्थान दिएका छैनन् ।
नेकपा कै नेता योगेश भट्टराईले एक हजार ९५४ जनालाई फलो गरेका छन् । उनले भारतका विभिन्न दल, तिनका नेतासमेतलाई फलो गरेका छन् । उनले नायिका ऋचा शर्मालगायत विभिन्न राजनीतिक दलका नेता, टेलिभिजन च्यानलहरुका समाचारवाचिका, विभिन्न मिडियाका सञ्चारकर्मीहरुलाई फलो गरेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्वीटरमा दुई हजार ५२ जनालाई फलो गरेका छन् । उनले फलो गरेकाहरुमा वायो विनाकै अकाउन्ट उल्लेख्य छन् ।









प्रतिक्रिया दिनुहोस्