Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कीर्तिमानी आरोही मिङ्मासहित एक दर्जन नेपाली कांग्रेसमा प्रवेश


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) परित्याग गरी एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

संखुवासभा मकालुका विश्व किर्तिमानी आरोही मिङमा शेर्पासहित पर्यटन व्यवसाय र पर्वतारोहण क्षेत्रमा सम्लग्न नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेपाली काग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीमा स्वागत गरेका थिए । उनले युवाहरुको पहिलो छनोटको पार्टी नेपाली कांग्रेस हुने र पार्टी प्रवेशको श्रृंखला निरन्तर रहने बताए ।

महामन्त्री कोइरालाले आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी गर्दै लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म कांग्रेसले विकासमा अग्रणी भुमिका निर्वाह गरेको उल्लेख गरे ।

उनले देश समृद्ध बनाउन कांग्रेसको आवश्यकता रहेको पनि बताए । सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, डाक्टर मिनेन्द्र रिजाल, गगन थापालगायतले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको आरोप लगाए ।

सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुँदा कोरोना नियन्त्रणमा उल्लेख्य भुमिका निर्वाह गर्न नसकेको बताए ।

कार्यक्रममा पूर्वराज्यमन्त्रीहरु दिपक खड्का, तारामान गुरुङलगायतका नेताहरुले मिङ्मा शेर्पाजस्ता युवाहरुको प्रवेशले नेपाली कांग्रेसलाई जिवन्त राख्ने बिश्वास व्यक्त गरे ।

नवप्रवेसी मिङ्मा शेर्पाले अन्य पार्टी बाढी आउँदा उर्लने खहरे भएको आरोप लगाउँदै निरन्तर बग्ने नदी जस्तै जिवन्त पार्टी नेपाली कांग्रेस रोजेको उल्लेख गरे ।

कोरोना संक्रमण र लकडाउनले मुलुक संकटमा परेका बेला पनि कम्युनिष्ट नेताहरु कमाउ धन्दामा लागेको उनको भनाई थियो ।

कांग्रेस प्रवेश गर्नेहरुमा शेर्पासहित पासाङ तेन्जी शेर्पा, लाक्पा शेर्पा, छिङ दोर्ची शेर्पा, लाक्पा ओङ्दी शेर्पा, प्रदिपकुमार लिंथेप, ज्योतीप्रकाश राईलगायत छन् ।