काठमाडौं । सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी नेकपाले सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा सुरु हुने बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि पार्टीले औपचारिक निर्णय गर्ने बताइएको छ । वैवाहिक अंगिकृत नागरिकतासम्बन्धि विषयबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।
यस्तै आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) का बारेमा पनि छलफल हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ ।
पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।
सुरु सुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको नेताहरुले बताएका छन् ।
तर प्रधानमन्त्री ओलीले गत विहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनासँगै अमेरिकी सेना पनि नेपाल आउने भनेर गलत हल्ला फिजाइएको बताएका थिए ।
आलोचकहरुलाई एमसीसी राम्रोसँग पढेर मात्र अभिव्यक्ति दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी अनुदान आउने र विकास हुने चिन्ताले विरोध गरिएको आशंका गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्