
काठमाडौं, असार २२ । शुक्रबारको प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।
कांग्रेसले आमरण अनशरत. डा. गोविन्द केसीको उपचार र जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।
संसदको बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले उनीहरुको माग अर्को बैठकको कार्यसूचीमा आउने जानकारी गराए ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले डा. केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराए ।
सभामुखको पटक–पटकको आग्रहपछि पनि नेपाली कांग्रेसका सांसदहरु उठिरहेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
संसदको अर्को बैठक असार २५ गते सोमबार दिनको १ः०० बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्