काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे आज संसद्लाई जानकारी दिएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे जानकारी दिए । उनले सरकार र सीके राउतबीच भएको सहमतिबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षणसमेत गराए ।
सरकार र राउतबीच भएको सहमतिमा उल्लेखित केही बुँदा विवादास्पद देखिएको भन्दै यादवले सरकारले त्यसलाई स्पष्ट पार्न माग गरेका हुन् ।
‘सहमतिलगत्तै राउतले आफूले उठाउँदै आएको जनमत संग्रहको माग पूरा गर्न सरकार सहमत भएको दाबी गरेजस्तै सरकारले त्यसलाई स्वीकार गरेको हो ?’ भन्दै उनले प्रश्नसमेत गरे ।
यादवले टीकापुरलगायतका घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
प्रतिवेदन सार्वजनिक नभएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख कृष्णबहादुर महराले तत्काल सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरे ।
प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।









प्रतिक्रिया दिनुहोस्