२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


प्रहरी, नीलो बर्दी र श्याम खत्री


0
Shares

यिनै विशेषतालाई मूलमन्त्र मानेर प्रहरी संगठनमा प्रवेश गरेर राज्यको पहरेदारी स्वीकारेकाहरुले नै माथि उल्लेख गरेभन्दा ठीक विपरित कर्म गर्न थाले भने समाज, राज्य व्यवस्था के होला ? ठीक त्यही परिस्थिति नेपाल प्रहरीको संगठन अहिले ब्यहोर्दै छ । संगठनलाई कमाण्ड गर्ने स्तरमा पुगेका ओहोदाधारी अधिकृत नै सुन तस्करी जस्तो काण्डमा मुछिएका छन् । उनलाई पक्रने संगठन पनि प्रहरी नै छ । तिनै बर्दीधारी प्रहरीले नै उनलाई तहकिकात र पुर्पक्षका लागि अदालतबाट म्यादसमेत लिएको छ । अर्थात् प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री पछिल्लो प्रकरणमा त्यही आम मानिसले भरोसा गर्ने बर्दीमा दाग लगाउने पात्रका रुपमा देखिएका छन् ।

खत्रीमाथि सुन तस्करी गराउन सघाएको आरोप लागेको छ । यो अभियोग प्रमाण र कानूनले पुष्टि नगर्दासम्म उनी अभियुक्तमात्र हुनेछन् । प्रमाण र कानूनले जुन दिन उनलाई सिद्ध गर्नेछ, त्यो दिन उनी दोषी करार हुनेछन्, अर्थात् अपराधी । त्यसैले अभियोग लाग्दैमा अपराधी हुन् भनेर भन्नचाहिं सकिँदैन/पाइदैंन । तर अरुले गरेका अपराधसमेतलाई दण्डको दायरामा ल्याउने जिम्मेवारी भएको प्रहरीले खत्रीमाथि त्यसै, बिना प्रमाण अभियोगमात्र लगायो होला त भन्न सकिन्न । जे होस्, घुसखोरी र भ्रष्टाचारको दलदलमा आफ्ना अग्रजहरुले फसाएर विश्वसनीयता गुमाइसकेको संगठनलाई पछिल्ला वर्षमा केही काबिल अर्थात् योग्य अधिकृतहरुले प्रहरीको अनुहारमा लागेको दाग मेटाउने प्रयास गर्दै थिए । तर खत्रीको यस काण्डले संगठनभित्र फेरि पनि मौका पर्दा बर्दी धरौटी राखेर अपराधी, तस्कर, देशद्रोही र लूटेराहरुसँग मिल्नेहरु उत्तिकै रहेछन् भन्ने देखिँदैछ । यसमा प्रहरीको वर्तमान नेतृत्वका साथै संगठन सम्हाल्न उद्यत भएकाहरु पनि सचेत हुनु जरुरी छ ।

अब लागौं सोमबार म्याद थप्न लैजाँदाका केही दृष्यहरुतर्फ । सुनकाण्डमा मुछिएपछि माघ २३ गते पक्राउ गरेर आफ्नै हिरासतमा राखेको खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले हिरासतमै राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ । आइतबार पक्राउ गरिएका उनलाई २४ घण्टाभित्रै जिल्ला अदालत काठमाडौंका न्यायाधीशसमक्ष पेश गरेर अनुसन्धानका लागि प्रहरीले चार दिनको समय लिएको हो । सोमबार दिउँसो १२ बजेर ३० मिनेट जाँदा रातो गाडीमा सादा पोशाक र बर्दीधारी प्रहरी अधिकृतका साथमा अदालत प्रवेश गरेका खत्रीलाई चार तला माथि पुर्‍याएर म्याद थपियो । करिब ४५ मिनेट अदालत परिसरमा रहेपछि खत्री हिरासतमै रहने म्यादसहित फर्किएका थिए । फर्कने बेलामा उनी चढेको गाडी पत्रकारलाई दृष्य कैद गर्न नदिने उद्देश्यका साथ दौडाउन खोजेपनि पत्रकारको घेरा तोड्न सकेन । अदालतबाहिरैबाट दृष्य खिच्न तम्तयार पत्रकारबाट बचाउन १० मिनेटसम्म गाडी र खत्रीलाई अदालतको भूमिगत पार्किङमा राखियो । पत्रकार पनि के कम, उनी नआउँदासम्म डेग चलेनन् र प्रहरी घेराकै बीच गाडी रोकेर दृष्य कैद गर्‍यो ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीको जिम्मेवारी सम्हालेका प्रहरी अधिकृत जसलाई करोडौं मूल्यको सुन तस्करी गराउन मिलेमतो गरेको अभियोग लगाइएको छ । उनलाई म्याद थपका लागि अदालत लैजाँदा भने अरु यस्तै अभियुक्तले झै हत्कडी पहिरिनु परेको देखिएन । यो छुट प्रहरीको वरिष्ठ अधिकृत भएकै नाताले मिलेको थियो वा अरु कुनै कारण त्योचाहिं खुल्न सकेको छैन ।

गुल्मी स्थायी घर भई हाल पेप्सीकोला बस्दै आएका खत्री २०४५ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनले नेपाल प्रहरीको विभिन्न ओहोदामा रहेर विभिन्न स्थानको जिम्मेवारी पनि बहन गरिसकेका छन् । नेपालगञ्जबाट काठमाडौं आएपछि २०७२ साल कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा लिएका खत्री १६ महिनाको बसाईपछि त्यहीबाट गत पुष २१ गतेको सुनकाण्डमा संलग्न भएको आरोपमा प्रहरी कै हिरासतमा पुग्नुपर्‍यो । विमानस्थलबाट यसरी सुन तस्करी भएको यो पहिलो पटक होइन । बरु जानकारहरु भन्छन्, यो त असमझदारीले फुत्केको माछामात्र हो । यसरी यही बाटो भएर सयौं किलो सुन तस्करी हुनु कुनै नौलौ विषय होइन ।

त्यसैले यो सुनकाण्ड श्याम खत्री मात्रैलाई डामेर टुंगिन्छ वा तस्करीको जालो नै बनेको विमानस्थलभित्रका अरु किस्साहरु पनि लहरो तान्दा पहरो गर्जे झै पत्रहरु उप्कँदै जान्छन् । अब प्रतीक्षा यसैको मात्र ।

(तस्वीर स्रोत : फेसबुक)