२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


मुस्लिम समुदायको समस्याः मृत्यु संस्कार गर्न न घाट छ, न शौचालय


0
Shares

-डम्बर बुढामगर/ईमेज

बाग्लुङ । बाग्लुङको गलकोटस्थित हटिया र हरिचौरमा बस्ने मुस्लिम समुदायलाई मृत्यु संस्कार गर्ने घाट नजिकै नहुँदा समस्या भएको छ ।

नजिकै घाट नभएपछि ५० किलोमिटरको दूरीमा रहेको सदरमुकाम नजिकैको घाटमा लैजानुपर्दा निकै समस्या पर्ने गरेको उनीहरुको गुनासो छ ।

मुस्लिम धर्मावलम्बीले अन्तिम संस्कारको रुपमा शवलाई गाड्ने गर्दछन् ।

गलकोट र हरिचौरमा २० परिवार मुस्लिम धर्मावलम्बी रहेका छन् उनीहरुको घरजग्गा पनि छैन ।

विभिन्न ठाउँबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले लामो समयदेखि बागलुङका विभिन्न भागमा बसोबास गर्दै आएका छन् ।

खोलाको छेउछाउ छाप्रो बनाएर बसेका उनीहरुको आर्थिक स्थिति पनि कमजोर छ ।

तर बस्तीबाट ५० किलोमिटर टाढा पोखरा–बागलुङ राजमार्गको मालढुंगा नजिकै शव गाड्ने ठाउँ रहेकाले कसैको निधनमा शव बोक्ने गाडीलाई ५० हजारसम्म बुझाउनुपर्ने बाध्यता रहिआएको छ ।

जुन रकम जुटाउन आफूहरुलाई निकै मुस्किल पर्ने गरेको स्थानीय साखिरा बानुको गुनासो छ ।

खोलाको किनारमा भद्रगोल रुपमा बसोबास गरिरहेका उनीहरुको परिवारमा ३ देखि ७ जनासम्म बालबालिका रहेका छन् । ३० जना बालबालिकाका लागि छाप्रोमै बारेर मदरसा पनि बनाएका छन् ।

अधिकांश परिवारको शौचालय नहुँदा वरपरको वातावरण र खोलाको पानी समेत प्रदूषित बनेको छ ।

अनेक अभाव र कैयौँ समस्यासँग जुधिरहेका उनीहरुले नगरपालिकासँग पटक–पटक घाटको व्यवस्था गरिदिन आग्रह पनि गरे ।

तर नगरपालिकाले जग्गाको अभाव देखाउँदै आफूहरुको समस्यालाई बेवास्ता गरेको अर्का स्थानीय रहमद हकिम बताउँछन् ।

यस बाहेक जिल्लाका अन्य भेगमा बस्ने मुस्लिम समुदायले पनि मृत्युसंस्कार गर्न सोही घाटमा पुग्नुपर्ने बाध्यता छ ।

उसै त आर्थिक रुपमा गुज्रिएका उनीहरुलाई आफन्तजन गुमाउनुको पीडा त एकातिर छँदैछ त्यसमाथि घाटको समस्याले अर्को पीडा थप्दै आएको छ ।