Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


को हुन् सीके राउत ?


0
Shares

काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलन चलाएर चर्चामा रहेका सीके राउतसँग सरकारले शुक्रबार ११ बुँदे सहमति गरेसँगै उनकाबारेमा चासो चुलिएको छ ।

मधेसलाई नेपालबाट टुक्र्याएर अलग राज्य बनाउनुपर्छ भन्ने अभियान चलाइरहेका सीके राउतले सरकारसँग सम्झौता गरेसँगै पृथकतावाद त्याग्ने घोषणा गरेका छन् ।

मधेसलाई नेपालबाट टुक्र्याउनुपर्छ भन्ने अभियान नै चलाउने राउत यस्ता छन् ।

सप्तरीको महादेव गाउँमा जन्मिएका डा. चन्द्रकान्त राउत (सीके) अमेरिकामा वैज्ञानिककारुपमा कार्यरत् थिए ।

सन् २०११ को अन्त्यमा वैज्ञानिकमा कार्यरत् आफ्नो पदबाट राजीनामा दिएर उनी राजनीति गर्नका लागि नेपाल आएका थिए ।

ललितपुरको पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनिररिङमा स्नातक उनले नेपाली युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषणलगायतका विभिन्न सम्मानसमेत पाएका छन् ।

राउतले जापान सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययन गरेका थिए । जापानमा मास्टर्स डिग्री पूरा गरेपछि उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।

अमेरिकामा रहँदा उनी गैरआवासीय मधेसी संघको संस्थापक अध्यक्ष थिए । अमेरिकाबाट नेपाल फर्किएपछि राउत विखन्डनको पक्षमा लाग्न थाले र स्वतन्त्र मधेस र अलग राज्यको माग गर्न थाले ।

पृथकताको मागकाक्रममा राज्य विप्लवको मुद्दा खेपेका राउत पटक–पटक पक्राउ पर्दै र छुट्दै गरेका थिए ।

राउत नेतृत्वको समूहले आफ्नो छुट्टै झन्डा, मधेसको छुट्टै राष्ट्रियगान तयार गरेका थिए ।

बिहीबारमात्र सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।