काठमाडौं, फागुन २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले निर्मला पन्तको बलात्कारी र हत्याराको मात्र खोजी किन भइरहेको भन्दै प्रश्न गरेकी छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उनले निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपको समेत प्रतिवाद गरिन् ।
पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्दा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुईतिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् ।
निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको भन्दै उनले प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको दावी गरिन् ।
‘यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ?’ सांसद चौधरीले प्रश्न गरिन्, ‘निर्मलाजस्ता धेरैले हिंसा बेहोर्नुपरेको छ । अरुको विषयमा नबोल्ने ? किन निर्मलाको विषयमा मात्रै बोल्ने ?’
उनले अधिकार प्राप्तिका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धिस्वरुप प्राप्त अधिकार रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्