Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेकपाभित्र असन्तुष्टि, वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठले गरे नेतृत्वको आलोचना


0
Shares

काठमाडौं, फागुन २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम सन्तोषजनक नभएको बताएका छन् ।

राजनीतिशास्त्री समाज नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताएका हुन् । सरकारले पार्टी चलाउने प्रक्रिया उल्टो भएको भन्दै वरिष्ठ नेता नेपालले पार्टीबाट सरकार सञ्चालित हुनुपर्ने बताए ।

दुई/चार व्यक्तिबाट मात्र पार्टी चलाउन खोज्दा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको उनको भनाइ थियो । उनले पार्टी एकीकरण प्रक्रिया टुंगो लगाउन ढिलाइ हुँदा पार्टी छोड्ने क्रम बढ्दै गएको भन्दै विधि र अनुशासनबाट पार्टी चल्नुपर्ने बताए ।

भ्रष्टाचार बढ्दै गएकाले पनि पार्टीभित्र क्षति पुगेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण प्रक्रियामा अन्योल बढ्दै गएको बताए । पार्टी एकीकरण टुंगो नलाग्दा केन्द्र, प्रदेश र स्थानीयस्तरमासमेत पार्टीका गतिविधि अगाडि बढ्न नसकेको उनको भनाइ थियो ।

पार्टी र सरकारबीच समन्वय हुन नसकेको भन्दै उनले सरकार एकलौटी रुपमा अगाडि बढ्न खोजेको आरोप लगाए । व्याप्त भ्रष्टाचारले पार्टीलाई बद्नाम गराउँदै लगेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भने एकीकरण प्रक्रिया अन्योल हुँदा भूमिकाविहीन हुनु परेको गुनासो गरेका थिए ।