२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


राष्ट्रपति र उपराष्ट्रपतिद्वारा महिला दिवसको शुभकामना


0
Shares

काठमाडौं, फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छन् । उनले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

‘संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ,’ सन्देशमा भनिएको छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् ।

१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताए ।

उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु ।’

संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको उनको भनाइ छ ।

उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गरेका छन् ।

यस्तै,  प्रधानमन्त्री केपी शर्मा ओलीले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् । उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्ने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन् । परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताएका छन् । (रासस)