काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
असन्तुष्ट समूहले विवादित विषयमा सहमति नगरे बैठकमा सहभागी नै नहुने चेतावनी दिएकै भोलिपल्ट सभापति देउवाले चैत ४ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।
बैठकमा विधानअनुसारको नियमावली, निर्वाचन समितिलगायतका विषयमा छलफल हुनेछ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।
महासमितिको भावनाविपरीत गएर केन्द्रीय समितिले निर्णय गरेको र उक्त निर्णय नमान्ने भन्दै ५६ जिल्ला सभापतिले चेतावनी दिएपछि सभापति देउवामाथि दबाब परेको छ ।
यही फागुन १२ गते बसेको बैठकले महासमितिको निर्देशनविपरीत संस्थापन पक्षले बहुमतका आधारमा विधान पारित गरेको थियो ।
त्यसमा पनि संस्थापनइतरका पौडेल र सिटौला समूहले विवादित विषयमा सहमति नजुटाइ बैठक बोलाइए बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
यस्तोमा बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकले कस्तो निर्णय लेला ? सबैलाई चासोको विषय छ ।
अनुशासन समिति र निर्वाचन समिति बनाउन फागुन १४ गते बोलाइएको बैठकपनि संस्थापनइतर समूहले बहिस्कार गरेको थियो ।
संस्थापन पक्ष बहुमतका बलमा पेलेर जाने देखिएपछि पौडेल र सिटौला समूहले बैठक बहिस्कार गरेका थिए ।
बुधबार पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकले सभापति देउवाले सहमतिका आधारमा विवाद समाधान नगर्दासम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्