
नेपाल–इजरायल व्यापार तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल इजरायल चेम्बर अफ कमर्स गठन गरिएको हो । योसँगै अब यस्तो द्विराष्ट्रिय संगठन २२ पुगेको छ ।
उद्यमी शिशिर भट्टको अध्यक्षतामा गठित संघको मंगलबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले औपचारिक सुरुआत गरे ।
नेपाल र इजरायलबीच जननेता विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकाल १९६० मै कूटनीतिक सम्बन्ध सुरु भएको हो । तर, इजरायलसँग आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि भने बल्ल निजी क्षेत्रबाट पहल सुरु भएको हो ।
कृषि र अन्य क्षेत्रमा पनि इजरायली प्रविधिलाई उत्कृष्ट मानिन्छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री महतले बीपीले उतिखेर इजरायलसँग कूटनीतिक सम्बन्ध सुरु गरे पनि उनको सोचलाई अगाडि बढाउन नसक्नु दुःखद् भएको बताए ।
संघले नेपाल–इजरायलबीच विद्यमान गहिरो व्यापार घाटा न्यूनीकरण गर्न भूमिका खेल्नेमा आफू विश्वस्त रहेको भन्दै मन्त्री महतले सरकार विधिको शासन कायम गर्न प्रतिबद्ध रहेकाले नेपालमा खुलेर लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरे ।
कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरुले इजरायली प्रविधि भित्र्याउनुपर्नेमा जोड दिएका थिए ।
नवगठित संघको उपाध्यक्ष रविचन्द्र सिंह, महासचिव जेआर (सागर) थापा, कोषाध्यक्ष हेमन्त गोल्छा तथा सदस्यहरुमा शैलेन्द्रकुमार श्रेष्ठ, सन्दीपकुमार शारदा र सुदीप आचार्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्