
हत्या गरिएका उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको नाम नलिइकन उत्तरले उनको शव फिर्ता गर्ने विषयलाई राजनीतिकरण गर्ने प्रयास गरेको जिकिर गरेको छ ।
‘केसीएनए’ले कूटनीतिक पासपोर्टधारी आफ्ना नागरिकको ह्रदयघातका कारण मृत्यु भएको उल्लेख गरेको छ ।
उनलाई विष दलेको भन्ने रिपोर्ट झुटो भएको भन्दै केसीएनएले मलेसिया पनि दक्षिण कोरियाली अधिकारीहरुले रचेको षड्यन्त्रको हिस्सेदार बनेको जनाएको छ ।
उत्तरको सरकारी सन्चारमाध्यम केसीएनएले नाम नलिइकनै पहिलोपटक हत्या प्रकरणका सम्बन्धमा पहिलो प्रतिक्रिया जनाएको हो ।
गत हप्ता विष प्रहारबाट हत्या गरिएका किम जोङ नामको शव पोस्टमोर्टम पछि क्वालालम्पुरको अस्पतालमै छ ।
हत्यामा संलग्न संदिग्ध १० जना उत्तर कोरियालीको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । जसमा उत्तर कोरियाली दूतावासका द्वितीय सचिव हयान क्वाङ साङ पनि छन् ।
बुधबार (हिजोे)मात्र मलेसियाली प्रहरीले विमानस्थलामा दुईजना महिलाले किमको अनुहारमा विष दलेको पुष्टि भएको जनाएको थियो । उनीहरु पक्राउ परिसकेका छन् ।
हत्या प्रकरणपछि मलेसिया र उत्तर कोरियाबीच तनाव चुलिएको छ । हत्यामा उत्तर कोरियाको संलग्नता रहेको व्यापक अनुमान गरिएको छ ।
उत्तर कोरियाले भने आरोप अस्वीकर गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्