२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


कान्छीमायाले बनाइन् हाफ म्याराथनमा नयाँ राष्ट्रिय ‘कीर्तिमान’


0
Shares

शुक्रबार सम्पन्न प्रतियोगितामा निर्धारित् २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि जितेकी हुन् ।

यसक्रममा उनले सन् २००६ मा भएको बर्लिन म्याराथनमा निर्मला भारतीले हाफ म्याराथनमा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । तर, यो नयाँ राष्ट्रिय कीर्तिमानलाई नेपाल एथ्लेटिक्स संघले आधिकारिकता दिन भने बाँकी छ ।

विजेता बनेसँगै कान्छीमायाले ५० हजार रुपैयाँका साथै मुम्बई म्याराथनमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी छिन् ।

अघिल्लो साता सम्पन्न कान्तिपुर हाफ म्याराथनमा पनि महिलातर्फ कान्छीमाया नै विजयी बनेकी थिइन् ।

काठमाडौं पिंकाथनमा १ घन्टा २२ मिनेट ४५ सेकेन्डमा निर्धारित् दुरी पार गर्दै नेपाली सेनाकी रेशु बस्नेत दोस्रो भइन् । उनले २० हजार रुपैयाँका साथै मुम्बई म्याराथनमा सहभागी हुने अवसर पाइन् ।

तेस्रो भएकी सेनाकै पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

काठमाडौं पिंकाथनअन्तर्गत् १० किलोमिटर दौडको उपाधि नेपाली सेनाकी सरिता बासीले जितेकी छन् । उनले निर्धारित् दुरी ३९ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् ।

दोस्रो भएकी आर्मीकै लक्ष्मी पाण्डेले ४० मिनेट १२ सेकेन्डको समय निकालिन् भने तेस्रो स्थान हासिल गरेकी मध्यपश्चिमकी धाविका फूलमती रानाले ४० मिनेट १५ सेकेन्डमा दौड सकाइन् ।

१० किलोमिटरतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

नेपाल एथलेटिक्स संघ सागको सहकार्यमा मुम्बईको संस्था लेजर पोर्ट र नेपालको शिवम ग्रुप होलिडेजको आयोजानमा काठमाडौंमा पहिलोपटक पिंकाथन आयोजना गरिएको हो ।

बलिउडका चर्चित मोडेल तथा पूर्वखेलाडी मिलिन्द सोमनले ५ वर्षअघि भारतको मुम्बईबाट पिंकाथन अभियान सुरु गरेका हुन् ।

नेपालमा पहिलोपटक आयोजना गरिएको महिलालेमात्र सहभागिता जनाउन पाउने यो दौडमा झन्डै ३ हजार महिलाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा २१ र १० किलोमिटरतर्फ प्रतिस्पर्धा भएको थियो भने ३ र ५ किलोमिटरतर्फ चेतनामूलक दौड गरिएको हो ।