
मलेसियास्थित उत्तर कोरियाली दूतावासमा खटिएका सुरक्षाकर्मी
उत्तर कोरिया सरकारले आफ्नो मुलुकमा रहेका मलेसियन नागरिकलाई स्वदेश फर्कन रोक लगाएको बताइएको छ । मलेसियाका प्रधानमन्त्री नजिब रजाकका अनुसार उत्तर कोरिया सरकारले त्यहाँ रहेका मलेसियन नागरिकलाई स्वदेश फर्कन रोक लगाइएको छ ।
प्रत्युत्तरमा मलेसियामा रहेका उत्तर कोरियाली दूतावासका अधिकारीहरुलाई पनि मलेसिया सरकारले स्वदेश फर्कन रोक लगाएको छ ।
क्वालालम्पुरस्थित उत्तर कोरियाली दूतावासलाई सुरक्षाकर्मीले घेरेर राखेका छन् ।
उत्तर कोरिया सरकारले त्यहाँ रहेको मलेसियन दूतावासलाई मलेसियन नागरिकमाथि स्वदेश फर्कन रोक लगाइएको औपचारिक जानकारी गराएको छ ।
मलेसिया सरकारले उत्तर कोरियाको यो कदमलाई कुटनीतिक मर्यादाविपरीत भनेको छ ।
केही साताअघि मलेसियामा उत्तर कोरियाली नेता किम जोङ्ग उनको सौतेनी भाइ किम जोङ्ग नामको हत्यापछि दुई मुलुकबीच तानव बढेको हो । उनको हत्यामा उत्तर कोरिया सरकारको भूमिका रहेको आशंकाबीच मलेसिया सरकारले छानविन प्रक्रिया अघि बढाएपछि उत्तर कोरिया सशंकित भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्