
फाइल फोटो
धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो ।
जिल्ला पशुसेवा कार्यालयले मंगलबारदेखि नै कुखुरा ओसार–पसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखन्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा. सुधीर थापाले बताए ।
‘सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिएपनि मंगलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको छ’–उनले भने–‘धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगामा कुखुरा जाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको छ ।’
धौलागिरि, पर्वतलगायत बागलुङ र म्याग्दी जिल्लामा रहेका पोल्ट्रीफार्म तथा मासु व्यवसायीले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा, चल्ला र दाना ल्याउने गरेका छन् ।
प्रायजसो पोखरा बागलुङ राजमार्ग हुँदै कुखुरा आयात हुने गरेपनि केही व्यवसायीले बुटवल हुँदै बागलुङको बुर्तिवाङबाट कुखुरा भित्र्याएको जानकारी पाएपछि अहिले पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगामासमेत कर्मचारी परिचालन गरिएको डा. थापाले जानकारी दिए ।
धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कुखुरा भित्रिने गरेको बताइन्छ ।
धौलागिरिका तीनओटै जिल्लामा मासुका लागि स्थानीय कुखुरा पर्याप्त भएपनि केही व्यवसायीले सस्तो हुनाले बाह्य जिल्लाबाट आयात गर्ने गरेका हुन् ।
बर्डफ्लुको चर्चासँगै जिल्लामा कुखुरा भित्रिन छाडेपछि कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ ।
एक साताअघि प्रतिकिलो रु ३६० मा पाइने मासु अहिले रु ४४० मा बिक्री हुँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्