
फाइल फोटो
ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणलाइनमा चट्याङ पर्दा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मुजफ्फरपुरतर्फको लाइटिङ एरेस्टर बिग्रिएर समस्या पैदा भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको जानकारी दिए ।
प्रसारणलाइनमा परेको समस्या समाधानका लागि प्रयास भइरहेको उनको भनाइ छ ।
मुलुकभित्रै नदीमा पानी बढेको र उत्पादन पनि बढेका कारण विद्युत् आपूर्तिमा कुनैपनि समस्या नआउने प्राधिकरणको भनाइ छ ।
हावाहुरीका कारण मुलुकका अन्य स्थानमासमेत विद्युत् प्रसारणमा समस्या पैदा भएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरी र चट्याङका कारण आपूर्तिमा समस्या भएका कारण प्राविधिक टोलीले काम गरिरहेको छ ।
सिंहदरबार आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।
शनिबार भएपनि विद्युत् आपूर्ति नियमित बनाउनका लागि हरप्रकारको प्रयास भइरहेको र उल्लेख्य मात्रामा प्राविधिक टोली परिचालन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
लामो समयपछि पानी परेका कारण प्रसारणलाइन तथा इन्सुलेटरलगायतमा समस्या पैदा भएको छ ।
तर, जलसतह बढेका कारण आन्तरिक उत्पादन बढेको तथा सन्चालनमा रहेका आयोजनाबाट उल्लेख्य मात्रामा विद्युत् उत्पादन भएका कारण आपूर्तिमा कुनैपनि समस्या नरहेको प्रवक्ता अधिकारीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्