काठमाडौं, फागुन १७ । प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोकप्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत् गरेको शोकप्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो ।
प्रस्तावमा भनिएको छ–‘ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पर्ने सिस्नेभीरमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा फागुन १५ गते बुधबारका दिन असामयिक निधन भएकामा प्रतिनिधिसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।’
बैठकले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
बैठकमा स्व. अधिकारीको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
वि.सं. २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, व्यवस्थापिका–संसदको विकास समितिका पूर्वसभापति, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताको पक्षमा अनवरतरुपमा लागेका विकासप्रेमी जनप्रिय नेता थिए ।
उक्त हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो ।
प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन १८ गते शनिबार दिनको १ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्