
अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशविरुद्ध फैसला गरेको हो । संघीय जिल्ला अदालतका न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।
ट्रम्पको आदेशविरुद्ध अमेरिकाका विभिन्न अदालतमा मुद्दा दायर गरिएको थियो । राष्ट्रपति ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गरेका हुन् ।
यसैगरी राष्ट्रपति ट्रम्पले कुनै पनि शरणार्थीलाई १ सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी निर्देशन पनि जारी गरेका थिए ।
ट्रम्पको पछिल्लो आदेश यही बिहीबारदेखि लागू हुने थियो । तर हवाइका न्यायाधीशले विपक्षमा फैसला गरेपछि राष्ट्रपतिको आदेश कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ ।
यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै गत जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गरेका थिए । तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्