Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादमा


13
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछिल्लो समय निकै विवादमा आउने गरेको छ ।

राष्ट्रको कार्यकारी प्रमुखले विनाअध्ययन नै आफूलाई लागेको कुरा बोल्दा सर्वसाधारणले सामाजिक सञ्जालमा निकै चर्को विरोध गर्ने गरेका छन् ।

त्यसको एउटा उदाहरण हो, ‘दुई वर्षदेखि नेपालमा कोहीपनि भोकमरीबाट मर्नुपरेको छैन’ भन्ने अभिव्यक्ति । बिहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका थिए ।

सरकारी तथ्यांकअनुसार पनि नेपालमा गरिबीको रेखामुनि ६३ लाख मानिस रहेका छन् । तर, त्यत्रो जनसंख्याको बेवास्ता गर्दै कोही भोकै मर्नुपरेको छैन भनेर बोल्दा चर्को विवाद भएको छ ।

गत जेठ २६ गते अछाम जिल्लामा अस्पतालले कामबाट निकालेका २४ वर्षीय सिद्धार्थ आउजीले आत्मदाह गरे ।

अछामको न्याय हेल्थ बयलपाटा अस्पतालले सरसफाइको काम गर्दै आएका आउजीसहित ३२ जनालाई आर्थिक संकट परेको भन्दै निकालेको थियो । जागिर गएको तोड सहन नसकेपछि उनले शरीरमा पेट्रोल खनाएर आत्महत्या गरे ।

यस्तै, जेठ १३ गते भक्तपुरको सूर्यविनायकमा एक महिलाले परिवार पाल्न समस्या भएको भन्दै आफ्नै सन्तानको हत्या गरिन् ।

सुत्केरी हुने समय नजिकिँदै जाँदा श्रीमान् छाडेर गएका कारण जन्मिएको शिशु मारेको उनले स्वीकार गरिन् । चार वर्षकी छोरीसमेत रहेकी उनले मजदुरीको काम गर्थिन् ।

तर, श्रीमान् ‘लकडाउन’ नहुँदै छोडेर हिँडेपश्चात् दुई सन्तानलाई पाल्न समस्या हुने भन्दै जन्मनसाथ शिशुको हत्या गरिन् ।

जेठ १६ गते कालीमाटीको सडकछेउमा रामेछापका ३९ वर्षीय भरिया सुतेकै ठाउँमा मृत फेला परे । यी त प्रतिनिधि घटनामात्र हुन् ।

परिवार पाल्न, खान–लाउन नै समस्या भएको भन्दै धेरैले आत्महत्या र हत्या नै गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीले भने दुई वर्षयता भोकमरीबाट कसैको पनि मृत्यु नभएको दाबी गर्दै आएका छन् ।

कोहीपनि आमा छोरा–छोरीको पेट पाल्न माग्दै हिँड्नु नपरेको उनको दाबी छ ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा २१ प्रतिशत व्यक्ति गरिबीको रेखामुनि रहेका छन् । त्यो भनेको तीन करोड जनसंख्याको झन्डै ६३ लाख मानिस हुन् ।

नेपालमा ६३ लाख व्यक्तिलाई बिहान–बेलुका खान–लाउन नै समस्या छ । परिवार पाल्न नै मुस्किलमा छन् ।

समाजशास्त्री डा. गणेश गुरुङ खानै नपाएर मृत्यु नभएको भएपनि बिहान काम नगरी साँझको चुलो नबल्ने जनसंख्याको व्याख्या कसरी गर्ने ? भन्ने प्रश्न गर्छन् ।

बोलेको कुरा व्यवहारमा लागू छ कि छैन भन्ने कुरा हेनुपर्ने उनको धारणा रहेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण नै आपराधिक घटनाहरु बढ्ने भन्दै डा. गुरुङले लकडाउनका कारण झन् त्यस्ता व्यक्तिहरुलाई थप मार परेको र यसले झन् गरिबी बनाउने बताए ।

खान नपाएका, परिवार पाल्न नै समस्या भएका र गरिबीको रेखामुनि रहेका जनताका लागि काम दिनुको सट्टा ठट्यौला अभिव्यक्ति दिनुले उनीहरुको पीडामाथि मजाक गरेको सन्देश जाने निश्चित छ । यसतर्फ प्रधानमन्त्री ओलीले ध्यान दिनु आवश्यक छ ।

भिडियो हेर्नुहोस्