२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बम विस्फोटमा चन्द समूहको संलग्नता देखियो, कडारुपमा प्रस्तुत् हुन्छौं : गृहमन्त्री


0
Shares

काठमाडौं, फागुन १२ । गृहमन्त्री रामबहादुर थापाले नख्खु बम विस्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले प्राप्त गरेको चन्द समूहका पछिल्लो बैठकका निर्णयहरुले पनि त्यही देखाउने भन्दै कसैले जिम्मेवारी नलिएपनि यस्ता घटना चन्द समूहले नै गराउँदै आएको बताए ।

गृहमन्त्री थापाले फागुन १० र ११ गते बेलुका ७ देखि राति १२ बजेकोबीचमा २१ जिल्लामा विस्फोट तथा आगजनीका घटना भएको र त्यसको मुख्य निशाना एनसेलका टावर तथा कार्यालय रहेको जानकारी दिए ।

प्रदेश नम्बर–१ बाहेक ६ प्रदेशका विभिन्न जिल्लामा विस्फोट तथा आगजनी भएको भन्दै उनले विस्फोटमा संलग्न १६ जनालाई पक्राउ गरेको बताए ।

चन्द र सीके राउत समूहलाई लक्षित गर्दै गृहमन्त्री थापाले ‘राजद्रोही तथा पृथकतावादी समूहहरु सत्ता उल्ट्याउने कोसिसमा लागेको र उनीहरु चुनौतीकारुपमा रहेको’ उल्लेख गरे ।

आगामी चैतमा हुने लगानी सम्मेलनलाई प्रभावित गर्नका लागिपनि एनसेलमा विस्फोट गराइएको हुनसक्ने उनको भनाइ थियो ।

मन्त्री थापाले विगतमा उन्मुक्ति दिइएकाले पनि संविधानविरोधी तत्वहरु हौसिएको भन्दै अब सरकार कडारुपमा प्रस्तुत् हुने दोहोर्‍याए ।