Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


भारतीय वनकर्मीको चर्को शोषणमा सीमा क्षेत्रका नेपाली नागरिक (भिडियो)


0
Shares

विराज रोस्यारा

कैलाली, फागुन १२ । कैलालीका सीमावर्ती गाउँका स्थानीयवासी नजिकै चरन क्षेत्र र वनजंगल नहुँदा भारतीयहरुको शोषणमा परेका छन् । जीविकोपार्जनका लागि भारतीय भूमिमा जानुपर्ने बाध्यतामा रहेका उनीहरु भारतीय पक्षले मनपरी शोषण गर्दा मर्कामा परेका हुन् ।

कैलालीको सीमावर्ती गाउँका स्थानीयवासीले नजिकै वनजंगल नहुँदा जीविकोपार्जनका लागि भारतीय वनजंगल तथा खोलानालामा भर पर्नुपर्ने बाध्यता छ । यही बाध्यताको फाइदा उठाउँदै भारतीय पक्षले उनीहरुमाथि मनपरी व्यवहार गरिरहेका छन् ।

घाँस दाउरा संकलन गर्न, बस्तुभाउ चराउन, माछा मार्न भारतीय क्षेत्रकै भर पर्नुपर्ने भएकाले भारतीय वनकर्मीले शुल्कबिना पाइलोसम्म टेक्न दिँदैनन् । यो समस्या शिवरत्नपुर र गौबरेलाका स्थानीयले भोग्नुपरेको छ ।

त्यस्तै कैलारी गाउँपालिकाका दर्जन बढी गाउँका स्थानीयले पनि यसैगरी भारतीय वनकर्मीलाई शुल्क तिर्नुपरेको छ ।

सीमावर्ती क्षेत्रमा रहेको मोहनपुर, निमुवाबोझी, शिवरत्नपुर, विशनपुर, पलिया, मोहनपुर, रतनपुर, भुईयाँफाँटा लगायतका दर्जन बढी गाउँवासीले विभिन्न बहानामा भारतीय वनकर्मीलाई पैसा तिर्दै आएका छन् । त्यसका अलावा भारतीय पक्षलाई बाली भित्राएपछि केही भाग बुझाउनुपर्छ । त्यतिले नपुगेर उनीहरुले  वर्षमा  १०÷१५ दिन निःशुल्क श्रमदान समेत गर्नुपरेको गुनासो गर्छन् । जसमध्ये शिवरत्नपुर गाउँँमा ७४ घरधुरी रहेको छ ।

नजिक चरिचरन र सामुदायिक वन नरहेकाले उक्त गाउँका स्थानीय यसका लागि भारतीय भूमिमा भर पर्दै आएका छन् । जसको फाइदा भारतीय वनकर्मीले लिएको देखिन्छ । भारतीय सीमावर्ती यस्ता धेरै गाउँहरु लामो समयदेखि ठूलो शोषणमा परे पनि सरोकारवाला पक्षको ध्यान जान सकेको छैन ।

भिडियो हेर्नुहोस्