११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने


0
Shares

काठमाडौं, फागुन १० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ ।

महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी १५ जिल्लामा औषधि खुवाउने जानकारी दिएको हो ।

‘क्युलेक्स’ नामक लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट हाल ३० हजार मानिस प्रभावित रहेको दाबी महाशाखाले गरेको छ ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले औषधि सेवन गरेका ४८ जिल्लाका मानिसमा हात्तीपाइले रोगको समस्या नदेखिएको र वर्षको एकपटकको दरले ६ वर्षसम्म औषधि सेवन गर्दा रोग निवारण गर्नसकिने बताए ।

१५ जिल्लाका ७६ लाख ४९ हजारलाई औषधि खुवाउन २० करोड ६० लाख रुपैयाँ छुट्याइएको जनाइएको छ ।

गर्भवती, सुत्केरी तथा दुई वर्ष कम उमेरका बालबालिकाले भने सो औषधि सेवन गर्नु हुँदैन ।

यस्तै, क्यान्सर, मुटुरोगीलगायत दीर्घरोगको औषधि सेवन गरेका बिरामीलेसमेत हात्तीपाइले रोगविरुद्धको औषधि खानु हुँदैन ।

यस्तै, विभिन्न ३४ ओटा अस्पतालबाट ४१ सय ७० जना ‘हाइड्रोसिल’का बिरामीको निःशुल्क  शल्यक्रियासमेत गरिने कार्यक्रममा जानकारी दिइयो ।