२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सम्बन्ध विच्छेदको माग गर्नेमा पुरुषको संख्या बढी


0
Shares

बाग्लुङ, फागुन १० । बाग्लुङमा सम्बन्ध विच्छेदको माग गर्ने पुरुषको संख्या बढेको छ । गत भदौ १ गतेबाट नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्लामा पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न थालेका हुन् ।

विगतमा महिलाका तर्फबाट सम्बन्ध विच्छेदका मुद्दा धेरै आउने गरे पनि चालू आर्थिक वर्षमा पुरुष अगाडि देखिएका छन् । जिल्ला अदालत बाग्लुङका श्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार संहिता लागू भएपछि हालसम्म ८५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये पुरुषका तर्फबाट ४६ र महिलाका तर्फबाट ३९ जनाले मुद्दा दर्ता गरेका छन् ।

श्रीमतीका कारणसँगै बस्न नसकिने भन्दै पुरुषले अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको अधिवक्ता राम शर्माको भनाइ छ । नयाँ मुलुकी संहिताले पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दिन पाउने भए पनि सो मुद्दामा एक वर्षसम्म फैसला गर्न नमिल्ने, दुवै पक्षका बीचमा मेलमिलापका लागि पहल गर्नुपर्ने व्यवस्था गरेको छ ।