३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै ठूलो बम प्रहार, के भयो क्षति ? (भिडियो)


0
Shares

‘बमहरुको आमा’ मानिने ‘एमओएबी बम’ इस्लामिक स्टेट (आइएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीहरुले बताएका छन् ।

यस्तो प्रकारको बम प्रहार भएको यो अहिलेसम्मकै पहिलो भएको उनीहरुको भनाइ छ । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ ।

इराकसँग युद्ध भएकाबेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो ।

छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एअर फोर्सकाअनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो ।

पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै ९ मिटर लामो उक्त बम खसालिएको छ ।

सुरुङभित्र रहेका आइएस लडाकूहरुलाई लक्षित गरी अमेरिकी विमानमार्फत् आक्रमण भएको बताइएको छ ।

आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ३६ जना आइएस लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको बताए ।

उनले आक्रमण भएको मोमान्ड डारा क्षेत्रमा निक्कै उचाइसम्म आगोको लप्का देखिएको बताए ।

गभर्नर स्माइलले घटनाको पूर्ण विवरण भने आइनसकेको जानकारी दिए ।

घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ ।

आइएस लडाकूहरुले निर्वाधरुपमा हिँडडुल गर्न प्रयोग गर्ने र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गर्ने सुरुङ र गुफाहरुमा रहेका लडाकूहरुलाई निशाना बनाएर आक्रमण गरिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले बताए । रासस/एएफपी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्