Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अतिक्रमणको चपेटामा ऐतिहासिक बुद्ध ताल (भिडियो)


0
Shares

विवेक भण्डारी

नवलपुर, फागुन ९ । नवलपरासीको सुनवल नगरपालिकास्थित बुद्ध ताल मानवीय अतिक्रमणको चपेटामा परेको छ । ताल वरपर भौतिक संरचना निर्माण हुनुका साथै जग्गासमेत अतिक्रमण हुन थालेपछि तालको अस्तित्व संकटमा परेको हो ।

सुनवल नगरपालिकाको तर्गौलीस्थित गौतम बुद्धसँग सम्बन्ध राख्ने ऐतिहासिक बुद्धताल अस्तित्व बचाउको स्थितिमा छ । स्थानीयवासीको अतिक्रमण र ताल संरक्षणमा उचित चासो नदेखाउँदा तालको सौन्दर्य र विशेषता नै लोप हुने अवस्थामा पुगेको छ ।

बाह्रै महिना पानी नसुक्ने, कमलको फूलले सुशोभित बनाएको ताल वरपर विभिन्न भौतिक संरचना बनाउन थालिएसँगै पानीले भरिभराउ ताल सुक्न थालेको छ ।साथै यसको क्षेत्रफल समेत खुम्चिने क्रममा छ । गौतम बुद्ध मामाघर आउँदा यही तलाउमा जलयात्रा गरेको कहावतअनुसार यसको ऐतिहासिक रुपमै महत्व देखिन्छ ।

ऐतिहासिक देवदह संरक्षण तथा पुनर्निर्माण समितिका सचिव गुप्तबहादुर केसी भने तालको संरक्षणका लागि केन्द्रीय सरकारसँग पहल गरिरहेको दाबी गर्छन् ।

तालको अतिक्रमण भइरहेको र संरक्षणका लागि आवश्यक पहल नभएकाले स्थानीयवासीले समेत आवाज उठाउँदै आएका छन् । जसका कारण सुनवल नगरपालिकाले यस तलाउलाई अतिक्रमणबाट रोक्न अहिले पहल सुरु गरेको छ । सिमसार क्षेत्रसँगै धार्मिक पर्यटनको सम्भावना भएकाले ताल संरक्षणका लागि  वरपरका बासिन्दालाई अन्यत्र सार्ने योजना नगरपालिकाको रहेको सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

बुद्धताल जस्तै रामग्राम नगरपालिका १८ को बुद्धकालीन धरमपोखरी ताल, बर्दघाटको बुद्धमंगल ताल, नन्दनताल, २२ विघा ताल, नवलपुरको कावासोतीमा रहेको तरुवा ताल पनि अस्तित्व बचाउ गर्नुपर्ने अवस्थामा पुगेका छन् । 

भिडियो हेर्नुहोस्