
काठमाडौं, असार २० । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताएका छन् ।
जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले सहिद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उनले भने–‘१० वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको रगत व्यर्थ जाँदैन । मलाई विश्वास छ, ढिलो–चाँडो क्रान्ति सफल हुन्छ ।’
सच्चा कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले क्रान्ति भएपनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन नआएको बताउँदै अब हुने क्रान्तिले परिवर्तन ल्याउने दाबी गरे ।
सोही पार्टीका महासचिव कर्णजीत बुढाथोकीले गणतन्त्रको रक्षार्थ क्रान्ति गर्ने बताए ।
सम्मानित हुने माओवादी योद्धाहरुमा सन्दीप पुनः, जविल कार्की, सामना श्रेष्ठ, प्रतीक कार्की, राजन बुढाथोकी, राजेन्द्र बोहरा, उमेश विक, नवीन पोख्रेल, ज्ञानु खड्का, नग्मा माली तथा निजला माली थिए ।
समाजका संयोजक कर्णजीत बुढाथोकीले परिवर्तनकामी योद्धाहरुको वीरताको कदर गर्न सम्मान कार्यक्रम गरिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्