
दीपक श्रेष्ठ/कुमार थापा (इमेज)
काठमाडौं, फागुन ५ । ट्याक्सी चढ्ने अधिकांशको एउटै गुनासो हुन्छ–‘ट्याक्सी चालकले ठग्छन् । भनेको ठाउँमा जान मान्दैनन् ।’
तर, ट्याक्सी चालकको पनि आफ्नै गुनासो छ–‘ट्राफिक प्रहरी र यात्रीले आफूलाई राम्रो व्यवहार नै गर्दैनन् ।’
यही जुहारीकैबीच ट्याक्सी चालकले आफ्नो पेसालाई मर्यादित र व्यवस्थित गराउन माग गर्दै आन्दोलन नै सुरु गरेका छन् ।
व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन माग गर्दै ट्याक्सी चालक अहिले सांकेतिक आन्दोलनमा छन् ।
उनीहरुले चलाउँदै आएको ट्याक्सीमा विभिन्न नारा र माग टाँसेर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
काठमाडौं उपत्यकाभित्र गुड्ने करिब १० हजार ट्याक्सीमध्ये अधिकांशले अहिले यस्तै माग टाँसेर सांकेतिक आन्दोलन थालेका हुन् ।
यसअघि, पटक–पटक आन्दोलन गर्दा पनि सरकारले आफ्ना मागको सुनुवाइ नगरेका कारण नयाँ ढंगले आन्दोलन सुरु गरेको उनीहरुको भनाइ छ ।
ट्याक्सी चालकहरुले वैज्ञानिक भाडादर कायम गर्न माग गरेका छन् ।
२०६८ सालमा निर्धारण गरिएको ट्याक्सीको भाडा अहिलेसम्म एउटै भएकाले त्यसलाई समायोजन गर्नुपर्ने उनीहरुको माग छ ।
इन्धनदेखि हरेक सामानको भाउ वृद्धि हुँदा पनि ट्याक्सी भाडा समायोजन नहुँदा आफूहरु ट्याक्सी चलाएर घर–परिवार चलाउन नसक्ने अवस्थामा पुगेको चालक बताउँछन् ।
सरकारले निर्धारण गरेको पुरानै भाडादरमा यात्री ओसार्दा आफूहरुलाई फाइदा नहुने उनीहरु बताउँछन् ।
ट्राफिक प्रहरी र यात्रीहरुलेसमेत आफूहरुलाई राम्रो व्यवहार नगर्ने गरेकोमा पनि उनीहरु दुःखी छन् ।
भाडा समायोजन गरेर पेसालाई मर्यादित बनाइए आफूहरु जुनसुकै ठाउँमा पनि मिटरमै जाने उनीहरु बताउँछन् ।
ट्याक्सी व्यवसायीहरुले सुरक्षाकोसमेत चिन्ता गरेका छन् ।
सहरका कुनाकाप्चा र एकान्तमा पनि जुनसुकै समयमा ट्याक्सी लिएर पुग्नुपर्दा पटक–पटक असुरक्षित बन्नुपरेको उदाहरण दिँदै चालकहरुले सरकारसँग सुरक्षाको प्रत्याभूति माग गरेका छन् ।
त्यसैगरी, २०६७ सालमा ट्याक्सीको रुट परमिट लिँदा २५० रुपैयाँ तिर्नुपर्नेमा अहिले ६०० तिर्नुपरेको, ट्याक्सीको कर ६ हजारबाट बढेर १३ हजार पुगेको र नयाँ कम्पनी दर्ता गर्दा १५ हजार रुपैयाँ लाग्ने गरेको भएपनि भाडा समायोजन नभएको गुनासो उनीहरुको छ ।
त्यसैगरी, ट्याक्सीको पार्किङस्थित व्यवस्थित बनाउनुपर्ने माग पनि व्यवसायीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्