
काठमाडौं, फागुन ५ । काभ्रेकी मैना सुनुवारको हत्या प्रकरणका दोषी सैन्य अधिकारीमाथि कारबाही नभएको भन्दै पीडित परिवारले अदालतको फैसला कार्यान्वयनको माग गरेका छन् ।
काभ्रे जिल्ला अदालतले मैना हत्या प्रकरणमा २०७४ वैशाखमा गरेको फैसलापछि पनि तीनजना दोषी सैनिक अझैसम्म पक्राउ नपरेको भन्दै मानवअधिकारवादीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आइतबार राजधानीमा मैना बाल विकास समितिले गरेको पत्रकार सम्मेलनमा सहभागी मानवअधिकारवादीहरुले दोषी सैनिक पक्राउ गर्न प्रहरीले कुनै प्रयास नगरेको भन्दै आपत्ति जनाए ।
मैनाका परिवारले दोषी ठहर भइसकेकालाई पक्राउ गरेर कारबाही अगाडि बढाउन माग गर्नुका साथै लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेका द्वन्द्वका पीडितहरुलाई न्याय दिन आग्रह गरे ।
सशस्त्र द्वन्द्वकालमा १५ वर्षीया मैना सुनुवारलाई सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको मुद्दामा नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई झन्डै १० वर्षपछि अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्