८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, देउवा प्रधानमन्त्री बन्ने


0
Shares

आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरूले बताएका छन् ।

सहमति कार्यान्वयन भएमा अहिलेको सत्तागठबन्धन पनि कायम रहने उनीहरूले बताएका छन् ।

गत १९ साउनमा प्रचण्ड प्रधानमन्त्री चुनिनुअघि कांग्रेस-माओवादीबीच स्थानीय निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो ।

त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको थियो ।

चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने र वैशाख पहिलो साता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने समझदारी त्यतिवेला दुई दलबीच भएको थियो ।

तर, निर्वाचन ढिलो भएपछि प्रचण्ड नेतृत्वको सरकार एक महिना लम्बिएको छ ।

सरकारले ३१ वैशाख र ३१ जेठ गरी दुई चरणमा निर्वाचनको घोषणा गरेको छ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा लागि निर्वाचन हुँदैछ ।

दोस्रो चरणको निर्वाचनसम्म यही सरकार टिकाउने वा देउवालाई हस्तान्तरण गरेर चुनाव गराउने भन्ने दुवै पार्टीबीच ठोस समझदारी भने बनिसकेको छैन ।

प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन पनि गराउन कांग्रेस सहमत नभए जेठ पहिलो हप्ता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पनि प्रधानमन्त्री विगतको राजनीतिक सहमतिका आधारमै सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

‘विगतमा भद्र सहमति तुहाउने र फोहोरी राजनीति हाबी गराउने काम हुँदै आएको थियो, माओवादी त्यस्तो पक्षमा छैन, भद्र सहमतिअनुसार नै सरकारको नेतृत्व हस्तान्तरण गर्न तयार छ,’ खनालले भने ।

कांग्रेससँगको सहमतिअनुसार जेठ पहिलो साता सरकारको नेतृत्व कांग्रेस सभापति देउवालाई हस्तान्तरण गर्ने उनले बताए ।
-नयाँ पत्रिका दैनिकबाट