३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सरकारले अदालतको निर्णय अवज्ञा गर्दैन : गृहमन्त्री


0
Shares

काठमाडौं, असार २० । गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अतिसंवेदनशील केही स्थानमा निषेधाज्ञा जारी गरेको जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बुधबारको दोस्रो बैठकमा गृहमन्त्री थापाले मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

विगतमा भएका सम्झौतालाई नै आधार मानेर विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै उनले ‘सरकारले अदालतको निर्णयलाई अवज्ञा गर्दैन’–भने ।

सामाजिक विकृति र विसंगतिकारुपमा रहेको छाउपडीलगायतका कुप्रथाको अन्त्य गर्न सामाजिक जागरणको अभियान सन्चालन गर्नपर्नेमा उनको जोड थियो ।

‘मुलुकमा भएको अविरल वर्षापछि आएको बाढी–पहिरोबाट जनधनको क्षति भएको छ । तराईमा डुबान हुँदैछ । यही असार १५ गतेयता हालसम्म झन्डै दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । १५ जनाभन्दा बढी मानिस बेपत्ता छन्’–गृहमन्त्री थापाले भने ।

उनले भने–‘विपद् न्यूनीकरणका लागि सदनमा उठिरहेको आवाज, राहत र उद्धारका कार्यक्रमलाई सम्बोधन गर्न सरकार सचेत र जागरुक रहेको छ ।’

‘प्राकृतिक प्रकोपका घटनामा परेर कमभन्दा कम क्षति होस् भन्नेतिर सरकारको पर्याप्त ध्यान रहेको छ’ भन्दै गृहमन्त्री थापाले द्वन्द्वपीडितकाबारेमा प्रश्न उठेकालाई समाधान गर्न राहत वितरण गर्ने र सबै समस्यालाई दीर्घकालीन ढंगबाट होस् भन्ने हिसाबले गृहकार्य भइरहेको उल्लेख गरे । रासस