
काठमाडौं, फागुन ४ । गत माघ १२ गते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई चढेको जिप सुनियोजित तरिकाले दुर्घटना गराइएको परिवारजनले आरोप लगाएका छन् ।
बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित पसाहा पुलनजिक भएको उक्त दुर्घटनामा प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइते प्रजिअ भट्टराईको अचेत अवस्थामा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी भट्टराईका भाइ नरेश भट्टराईले दुर्घटनालाई नियोजितरुपमा अर्थ्याउन सकिने भन्दै सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको माग गरे ।
उनले चालक नारायणप्रसाद कुर्मीले घटनालगत्तै प्रहरीलगायत सम्बन्धित निकायलाई कुनै जानकारी नदिएकाले थप शंका उत्पन्न गरेको पनि बताए ।
प्रजिअ भट्टराईको परिवारले जिल्ला प्रशासन कार्यालय बारामा हलुका सवारीचालककारुपमा कार्यरत् जगतनारायण राउत कुर्मीले तीव्रगतिमा सवारी चलाउनु र रोकिराखेको ट्याक्टरको टेलरमा ठोक्काउनुले थप आशंका पैदा गराएको बताएको छ ।
यसैगरी, उच्चपदस्थ व्यक्तिलेसमेत कुर्मीलाई बचाउन चासो देखाउनुले घटनालाई झन् रहस्यमय बनाएको परिवारको भनाइ छ ।
प्रहरीले प्रभावकारीरुपमा अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्