Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो


0
Shares

यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा फेसबुक तथा ट्विटरमा पोस्ट छाएका छन् । यी पोस्ट विशेषगरी स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर राखिएका हुन् । यसका लागि विभिन्न राजनीतिक दलले नेपालबाट करोडौं रुपैयाँ बाहिर पठाइसकेका छन् ।

दैनिक लाखौं रुपैयाँ यसरी बाहिरिएको सरोकारवालाको भनाइ छ । स्थानीय तहको चुनावलाई लक्ष्य गरी अहिले राजनीतिक दलले आफ्नो फेसबुक, ट्विटर तथा इन्स्ट्राग्रामा पेज बनाएका छन् । त्यसमा राखिएका पोस्टलाई लक्षित वर्ग÷समुदायमा पुर्‍याउन दल तथा उनीहरूका प्रतिनिधिले दैनिक लाखौं रुपैयाँ खर्च गरिरहेको पाइएको छ ।

पछिल्लो एक महिनामा नेपालबाट फेसबुकमा पोस्ट–बुस्टकै लागि भनेर दलले करोडौं बाहिर पठाइसकेको कम्प्युटर प्रोग्रामर टुरूप संग्रौलाले बताए । उनको एकाउन्टमार्फत अहिले विभिन्न राजनीतिक दलको प्रचारका लागि दैनिक ५० डलर हाराहारीमा कारोबार भइरहेको छ ।

‘मजस्तो सामान्य कम्प्युटर प्रोग्रामिङ गर्नेको खाताबाट दैनिक ५० डलर बाहिर गइरहेको छ,’ उनले भने, ‘यसैलाई पेसा बनाएर काम गर्नेको एकाउन्टमार्फत कति पैसा बाहिर गएको होला ?’

अहिले फेसबुकमार्फत दैनिक औसत १० देखि १५ लाख रुपैयाँ बाहिर गएको उनको भनाइ छ । ‘यो फेसबुकमार्फत बाहिरिएको रकम हो,’ उनले भने, ‘ट्विटरमा पनि यसैगरी लगानी भइरहेको छ ।’

यो क्रम २५ दिनयता निरन्तर रहेको उनले बताए । प्रचारका नाममा फेसबुकमार्फत दुई किसिमले रकम बाहिरिएको उनको भनाइ छ । ‘पहिलो, आफ्नो भाषण अथवा पोस्ट बुस्टका लागि,’ उनले भने, ‘दोस्रो पेज प्रमोसनका लागि ।’

दल तथा उनीहरूका प्रतिनिधिले आफ्नो भाषणलाई ठूलो समूहमा पुर्‍याउन एउटा पोस्टको दैनिक तीन सय डलरसम्म खर्च गरेको संग्रौलाको दाबी छ । उनकै एकाउन्टमार्फत एउटा पोस्टका लागि एउटा दलले तीन सय डलरसम्म तिरेको छ ।

राजनीतिक दलले पछिल्लो समय सामाजिक सञ्जालमा दैनिक दर्जनौं पोस्ट गर्दै आएका छन् । उनीहरूले आफ्नो फेसबुक पेजलाई प्रमोसन गर्न पनि छुट्टै पैसा खर्च गरिरहेका छन् । –अन्नपूर्णपोस्ट दैनिकबाट