Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रमुख र उपप्रमुखबीचको विवादले नगरपालिकाको नगरसभा अबरुद्ध(भिडियो)


0
Shares

-सञ्जय कार्की/ईमेज

रौतहट । नगरप्रमुख र उपप्रमुखको विवादका कारण रौतहटका ३ नगरपालिकाको नगरसभा अवरुद्ध बनेको छ ।

आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा पनि नगरसभाका पदाधिकारीको जुँगाको लडाइँका कारण नगरसभा बस्न नसक्दा नगरपालिकाका समग्र कामकारबाही नै अलपत्र जस्तै बनेका छन् ।

विशेष गरी बजेट बाँडफाँटको विषयमा विवादमा रौतहटको  बौद्धिमाई, कटहरिया र फतुवाबिजयपुर नगरपालिकाका जनप्रतिनिधिहरु आरोप–प्रत्यारोपमा उत्रिंदा अहिलेसम्म एकपटक पनि नगरसभा बस्न सकेको छैन ।

सोहीमध्ये कटहरीया नगरपालिकमा गत वर्षको हिसाबकिताब नमिल्दा नगरप्रमुख र उपप्रमुखबीच विवाद कायम छ ।

त्यस्तै बौद्धिमाई नगरपालिकामा आफूले भनेअनुसारको बजेट नपाएपछि वडाध्यक्षहरु नगरप्रमुखसँग रुस्ट बनेका छन् ।

अर्को फतुवाविजयपुर नगरपालिकामा पनि अवस्था उस्तै छ । नगरप्रमुख गोपाल यादब र उपप्रमुख कान्तीदेवी महतोबीचको विवाद चरम उत्कर्षमा पुगेको छ ।

यतिसम्म कि आरोपप्रत्यारोपबाहेक आपसमा बोलचाल समेत बन्द छ भने दुवैले कार्यालय समेत अलगअलग स्थानबाट सञ्चालन गरिरहेका छन् ।

लालबकैया नदीको गिट्टिजन्य पदार्थको निकासीमा अनियमितता गरेको भन्दै एकअर्काबीच आरोप प्रत्यारोपको जुहारी जारी छ ।

मेयर र उपमेयर फरकफरक पार्टीबाट निर्वाचित भएका कारण पनि विवादले उग्र रुप लिएको आम बुझाइ छ ।

नगरप्रमुख गोपाल राय यादबले पत्रकार सम्मलेन गरेर कार्यपालिकामा उपप्रमुखले बहुमतको दम्भ देखाउदा नगरसभामा ढिलाइ भएको बताए ।

यता,नगर उपप्रमुख कान्तिदेवी महत्तोले भने नगर प्रमुखले आफुहरुलाई बेवास्ता गरेको आरोप लगाउदै आएका छन् ।

विवाद प्रमुख र उपप्रमुखबीचको भएपनि त्यसको क्षति समग्र नगरपालिका र जनताले बेहोर्नुपरेको छ ।

जनताका लागि काम गर्ने भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरु नै व्यक्तिगत अभिष्टका कारण जिम्मेवारीप्रति उदासीन बन्नु आफैंमा निन्दनीय छ ।