३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


खैरहनी विवाद प्रकरणः १९ घन्टापछि मतगणना सुरु


0
Shares

अर्धकट्टीअनुसार आएका मतपत्र गणना गर्ने दलबीच सहमतिपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए ।

मतदानको दिनमा मुचुल्का उठाएकाबेलाको मतपत्रको संख्या र मतपेटिकामा हाल भएको संख्या नमिलेपछि यहाँ मतगणना बिहीबार ४ बजेदेखि रोकिएको थियो ।

सो विषयमा आयोगलाई जानकारी दिइ अर्धकट्टीअनुसार मतगणना गर्ने सहमतिपछि गणना सुरु भएको हो ।

बिहीबारको छलफलमा निष्कर्ष ननिस्किएपछि शुक्रबार बिहान भएको छलफलले यस्तो सहमति गरेको उनको भनाइ छ ।

मुचुल्काभन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको थियो । मुचुल्का उठाएकोमा खैरहनी वडा नम्बर–७ मा एक हजार ५९४ मत खसेको भनेर उल्लेख छ ।

वडा नम्बर–७ को मतगणनाकाक्रममा एक हजार ६०८ मतपत्र रहेको पाइएपछि कांग्रेसले पुनःमतगणनाको माग गरेको थियो । तर, मतपेटिकामा भेटिएको मतपत्र र अर्धकट्टी भने बराबर भएको कार्यालयले जनाएको छ ।

मुचुल्कामा गल्ती भएको निरौला बताउँछन् । अर्धकट्टी मिलेपछि त्यसैलाई आधार मानेर गणना गरिने उनको भनाइ छ ।

अहिलेसम्म भएको गणनामा खैरहनीमा ६ ओटा वडामध्ये दुईओटा एमालेले जितेको र तीनओटा कांग्रेसले जितेको छ ।

खैरहनीमा पछिल्लो मतपरिणामअनुसार प्रमुखमा एमालेको चार हजार ४२५ मत छ भने कांग्रेसको चार हजार २०२ र माओवादी केन्द्रको दुई हजार ८५ छ ।

यस्तै, उपप्रमुखमा एमालेको चार हजार ३९३, कांग्रेसको चार हजार ४१८ र माओवादी केन्द्रको एक हजार ७५८ मत रहेको छ । रासस