२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पर्वतमा निर्वाचित पदाधिकारीहरुले लिए शपथ, पदभार ग्रहणसँगै यस्तो गरे प्रतिबद्धता


0
Shares

नेकपा एमालेबाट निर्वाचित फलेबास नगरपलिकाका प्रमुख पदमपाणि शर्मा र उपप्रमुख मञ्जु अधिकारीले फलेबासमै शपथ लिइ पदभार ग्रहण गरे ।

सो अवसरमा शर्मा र अधिकारीले निर्वाचनकाबेला गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख शर्माले खुला आकाशमुनि रहेको नगरपालिकालाई व्यवस्थित गर्नु पहिलो जिम्मेवारी हुने भन्दै फलेबासलाई समृद्ध नगरकोरुपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजना लागू गर्ने बताए ।

यसैगरी, नेपाली कांग्रेसबाट निर्वाचित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र सीता काफ्ले लामिछानेसहितका पदाधिकारीहरुले पनि शुक्रबारै पदभार ग्रहण गरे ।

सो अवसरमा नवनिर्वाचित प्रमुख जोशी र लामिछानेले कुश्माबजारलाई मुलुककै नमुना नगर बनाउने प्रतिबद्धता जनाए ।

प्रमुख जोशीले कुश्मालाई आर्थिक, सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी सडकजस्ता पूर्वाधारयुक्त समृद्ध नगर बनाउने बताए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मोहनराज भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकालको सफलताका लागि शुभकामना दिए ।

पर्वतका सातओटा स्थानीय तहमध्ये एक नगरपालिकासहित चारओटा स्थानीय तहमा एमाले विजयी भएको छ भने एक नगरपालिकासहित तीनओटा तहमा कांग्रेसले जित हासिल गरेको छ ।